Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह


सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

ल्हासाः उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न चिनियाँ पक्षसँग आग्रह गरे । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टी सिजाङ्ग स्वायत्त क्षेत्रका सचिव वाङ झुङहेङसँगको भेटमा उनले सीमा क्षेत्रका किसानलाई तिब्बतमा चरनको व्यवस्था मिलाउन, नेपाली ट्रक कन्टेनर चालकलाई तिब्बत प्रवेश पास उपलब्ध गराउन तथा नेपालको उच्च हिमाली क्षेत्रमा विद्युतीकरणका लागि सहयोग गर्न आग्रह गरे ।

बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यिसँगको भेटमा नेपाल–चीन परम्परागत १४ वटा नाका खुलाउने सहमति भएको उल्लेख गर्दै उनले त्यसका लागि सिजाङ्ग सरकारले सहजीकरण गर्ने विश्वास गरे।

नेपाल र चीनबीच सन् १०१२ मा भएको चरनसम्बन्धी सम्झौताअनुसार पुनः चरन सुविधा उपलब्ध गराउन आग्रह गरे । नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई प्राथमिकता साथ अघि बढाउन आग्रह गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सीमावर्ती क्षेत्रमा विद्युतीकरणका लागि सहयोग गर्न अनुरोध गरे । आगामी महिना नेपालमा आयोजना हुने लगानी सम्मलेनमा सिजाङ्ग सरकार, यहाँका लगानीकर्ता तथा व्यवसायीलाई आमन्त्रण गरे । उनले काठमाडौँ–ल्हासा बस सेवा पुनः सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरे ।

राजनीतिक परिवर्तन पछाडि नेपाल तीव्र आर्थिक विकासको यात्रामा रहेको जानकारी दिँदै उनले वर्तमान सरकार आर्थिक विकासलाई तीव्र बनाएर जनतालाई सुख दिन क्रियाशील रहेको बताए । राजनीतिक परिवर्तन, व्यवस्था र सरकारको स्थायित्वका लागि जनताको विश्वास जित्न आवश्यक रहेको जनाउँदै उहाँले त्यसका लागि विकास जरुरी रहेको उल्लेख गरे ।

चीनले नेपालको आर्थिक विकासमा गरेको सहयोगका लागि आभार प्रकट गर्दै उनले हरेक सङ्कटका बेला चीनले गरेको सहयोग बिर्सन नसकिने बताए । बेइजिङमा चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)का अध्यक्ष वाङ हुनिन तथा विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले उक्त भेटमा दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउनेबारेमा छलफल भएको जानकारी दिए ।

नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे । नेपाल र तिब्बतबीच लामो सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपाल र चीन संस्कृतिक तथा व्यापारिक, भावनात्मक रहेको बताए । दुई देशबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै दुई देशबीच समस्यारहित सम्बन्ध हुनु खुसीको विषय भएको बताए ।

भेटमा सचिव वाङले नेपाललाई आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालमा पूर्वाधार विकास तथा ल्हासा–काठमाडौँ बस सेवा पुनःसञ्चालन गर्न सकारात्मक रहेको बताए ।

सीमा क्षेत्रका बासिन्दालाई निर्वाध आवातजावतको व्यवस्थाका लागि आफूहरू सकारात्मक रहेको उनको भनाइ थियो । प्रतिनिधिमण्डलस्तरमा भएको सो वार्तामा नेपालका तर्फबाट चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, लाह्सास्थित नेपाली महावाणिज्यदूत नवराज ढकाल, बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुरेन्द्रकुमार यादव, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलगायत छन् ।