काठमाडौं । उद्योग परिसंघ नेपाल (सीएनआई)का अध्यक्ष राजेश कुमार अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन बैंकको ब्याज घटाउनु पर्ने बताएका छन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले सो बताएका हुन् ।
‘निजी क्षेत्रको मनोबल घट्दो छ, अर्थतन्त्र मन्दीमा छ, अर्थतन्त्रलाई चलायमान बनाउने गरि मौद्रिक नीति आएको छैन, अर्थतन्त्रलाई चलायमान बनाउन भए पनि बैंकको ब्याज घट्नु पर्छ,’ उनले भने । त्यस्तै, उनले बैंकमा पैसा हुँदा पनि उद्योगीले लोन नपाएको बताउँदै मन्दीमा रहेको अर्थतन्त्र उकास्न व्यवसायीको मनोबल बढाउनु पर्ने बताए । साथै, उनले उच्च व्याजदरका कारण उद्योग फष्टाउन नसकेको बताए । मंगलबारदेखि शुरु भएको अटो शोले पनि बजार चलायमान बनाउने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र प्रसाद ढकालले पनि निजी क्षेत्रले दिएको सुझावको सम्बोधन नभएको गुनासो गरे ।
‘हामीले दिएको सुझाव व्यापारीको फाईदाको लागि हैन, यो समग्र आर्थिक स्थिति हेरेर सुझाव दिएका छौं, यसमा पनि सरकारको ध्यान जाओस्,’ उनले भने ।