बागलुङ । राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन् । हिउँदमा बुङ्ग उड्ने धुलोले सेताम्मे हुने सवारीसाधनलाई बर्खा सुरु भएपछि तिनै खाडलमा अड्किएर निस्कन हम्मे हम्मे पर्दछ ।
सडकको दुरावस्थाका कारण नागरिक मात्र होइन, बागलुङको बाटो भएर हिँड्ने पर्यटकले पनि सधैँ दुःख पाउने गरेका छन् । लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड कालोपत्रको काम सुरु भएको आठ वर्ष भयो तर काम सकिएको छैन । कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्डमा पनि काम त चलिरहेकै छ तर पूरा नहुने बेलासम्म सडकमा सास्ती छ ।
राष्ट्रिय गौरवका आयोजना नै दुरावस्था व्यहोरेको बागलुङका ग्रामीण सडकको अवस्था दर्दनाक छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार एकसाता पहिलेको वर्षापछिको बाढीपहिरोले रोकिएका दर्जन बढी ग्रामीण सडक अझै खुलेका छैनन् । सडक हिलाम्मे हुँदा सवारीसाधन र यात्रु दुवै मारमा पर्ने गरेका छन् । ग्रामीण सडक मर्मतका लागि स्थानीय तहले प्रयास गरे पनि पहिराका कारण समयमा सडक खुल्दैनन् ।