काठमाडौं, असोज ३। दुई महिनामा करिब १८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता भएको छ । उद्योग विभागले उपलब्ध गराएको चालू आर्थिक वर्ष २०८०,८१ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । यी दुई महिनामा कुल १७ अर्ब ८५ करोड ६३ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको छ।भदौ मसान्तसम्ममा सेयर पर्चेज एग्रिमेन्ट(एसपीए) सेयर सब्सक्रिप्सन एग्रिमेन्ट(एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) क्षेत्रसहित नयाँ उद्योगमा गरी लगानी प्रतिबद्धता बताएका छन् ।
भदौमा ५ अर्ब ८८ करोड ८५ लाख १४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको विभागले बताएको छ । यद्यपि, यो गत साउनको तुलनामा भने ५०.७९ प्रतिशतले कमी हो । गत साउनमा कुल ११ अर्ब ९६ करोड ७८ लाख ३० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको थियो । भदौमा नयाँ उद्योगभन्दा पुरानो उद्योगमा बढी लगानी प्रतिबद्धता आएको छ। विभागका अनुसार भदौमा ५१ वटा नयाँ उद्योगका लागि २ अर्ब ७२ करोड २४ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
तर, पुरानो उद्योगमा भदौमा एसपीए र एसएसएद्वारा ११ वटा उद्योगका लागि ३ अर्ब १६ करोड ६१ लाख १४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो । विभागका अनुसार विभिन्न मुलुकहरूबाट १११ वटा नयाँ उद्योगमा १४ अर्ब ६५ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिबद्धता भएको छ।चालू आवको साउन देखि भदौसम्ममा एसपीए एसएसएमद्वारा १२ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको विभागले बताएको छ। विभागका अनुसार ती उद्योगका लागि ३ अर्ब २० करोड २१ लाख रुपैयाँ लगानी प्रतिबद्धता भएको उल्लेख छ ।