काठमाडौं । मुआब्जा विवाद मिलेपछि ६७ दिनदेखि ठप्प रहेको ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहस्थलको काम बिहीबारबाट सुरू भएको छ ।
सरकारले मुआब्जा पीडितका लागि आवश्यक पर्ने ५३ करोड रुपैयाँ जिल्ला प्रशासन कार्यालय संखुवासभाको खातामा पठाएपछि स्थानीयले आन्दोलन फिर्ता लिएका हुन् । प्रधानमन्त्री कार्यालयमा मुआब्जाको कागजपत्र अड्किएपछि स्थानीयले भदौ १६ देखि अरुण प्रवेशमार्गको काम ठप्प पारेका थिए ।
छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा विवाद थियो । अब प्रवेश मार्गमा रहेका ४ सय स्थानीयले ५ सय ५४ रोपनी जग्गाको मुआब्जा पाउने छन् ।
जिल्ला प्रशासन कार्यालय संखुवासभामा गठित छुट मुआब्जा निर्धारण समितिले गत वैशाख २६ गते छयाङकुटी–दिदिङ सडकखण्डको प्रति रोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो । संखुवासभामा निर्माणाधीन अरुण तेस्रो विद्युत् आयोजना निर्माण भारतीय कम्पनी सतलजले गरिरहेको छ ।