Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पाँच ठूला आयोजनाको पूर्व तयारी फास्ट ट्र्याकमा


पाँच ठूला आयोजनाको पूर्व तयारी फास्ट ट्र्याकमा

काठमाडौँ । अर्थ मन्त्रालयले विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्र्याकमा गर्ने  भएको  छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको वाग्मती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार,विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो ।

यसैगरी तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ पहुँच तथा उत्थानशीलताको लागि डिजिटल सेवा रुपान्तरणसम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्र्याकमा गर्ने निर्णय भएको   छ । विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित हुने आयोजनाको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी पूर्व तयारी गर्नेछन् भने आवश्यकताअनुसार अर्थ मन्त्रालयले सहजीकरण गर्ने छ । बैठकले सन् २०२५ को फेब्रुअरीसम्ममा आयोजनासँग सम्बन्धित सबै विषयको टुंगो लगाइ पूर्व तयारीका काम सक्ने निर्णय भएको   छ ।

तयारी पूरा भएपछि सन् २०२५ को मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्तावहरु पेस गरिने योजना छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरुको पूर्व तयारीमा विशेष ध्यान दिन र आयोजनाहरु स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न निर्देशन दिए ।

उनले नेपालले आफ्नो आवश्यकताअनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने बताए । बैठकमा अर्थ मन्त्रालय, भौतिक तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि र सम्बद्ध पदाधिकारीहरुको उपस्थिति थियो ।