काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपिन जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन् ।
असंलग्न राष्ट्रहरुको सङ्गठन, नामको मन्त्रिस्तरीय बैठकलाई सोमबार न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा.राणाले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी छन् । उनले नेपाल विपिन जोशीको स्वागतका लागि व्यग्र प्रतीक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गरिन ।
गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतङ्ककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए ।
उक्त हिंसात्मक आक्रमणमा परी अरु पनि कैयौँ मानिस मारिएका थिए । नेपाल सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको मन्त्री डा.राणाले सो बैठकमा बताइन ।