Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मुलुकको अर्थतन्त्र संकटमा नभइ दबाबमा छःप्रधानमन्त्री दाहाल


मुलुकको अर्थतन्त्र संकटमा नभइ दबाबमा छःप्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र अहिले संकटमा नभई दबाबमा रहेको बताएका छन् । मोरङ व्यापार संघले आयोजना गरेको दस दिने ट्रेड एक्स्पो २०२३ को शुक्रबार विराटनगरमा उद्घाटन गर्दै दाहालले अर्थतन्त्रका महत्वपूर्ण सूचांकहरुमा क्रमिक सुधार आएको दाबी गरे ।

नकारात्मक भाष्यका कारण अहिले अर्थतन्त्र संकटमा रहेको कुप्रचार गरेर उद्योगीरव्यवसायी र सर्वसाधारणलाई निरास पार्ने प्रयत्न भइरहेको उल्लेख गर्दै त्यसलाई चिर्न जरुरी रहेको दाहालको भनाइ थियो ।नकारात्मक भाष्यका कारण मुलुक नै अन्धकारमा रहेको कुप्रचार भएको छ, दाहालले भने, त्यसलाई चिर्दै मुलुकमा उज्यालो पक्ष पनि छ भनेर प्रस्ट्याउन सरकार प्रयत्नशील छ ।

झण्डै एक वर्ष पहिला म प्रधानमन्त्री बन्द मुलुकको अर्थतन्त्र साँच्चिकै संकटमा थियो तर अहिले त्यस्तो अवस्था छैन, दाहालले भने, एक वर्षको अवधिमा अर्थतन्त्रका सूचांकमा सुधार आएको छ । मूल्यवद्धि नियन्त्रणको तहमा रहेको, राजस्व वृद्धि भएको, विदेशी मुद्राको संचिति बढेको र भुक्तानीको सन्तुलन बढेकाले अर्थतन्त्र संकटमा नभई दबाबमा रहेको दाहालको दावी थियो ।

उनले हाल मुलुकको विदेशी मुद्रा संचिति चार महिनाको अवधिमा १६ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको तथ्यांक प्रस्तुत गर्दै अहिले बैंक ब्याजदर घटेको र लगानी बढेको औंल्याएका थिए । विराटनगर विकासमा पछि पर्दै गएको औल्याउँदै प्रधानमन्त्री दाहालले गिरिजाप्रसाद कोइरालाको गृहनगरको विकासमा आफू दत्तचित्त रहेको आश्वासन दिए ।

विराटनगर पछि पर्‍यो भने मुलुक नै पछि पर्छ भन्ने आफ्नो मान्यता रहेको भन्दै दाहालले विराटनगरमा गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, औद्योगिक प्रदर्शनी स्थल, अढाई दशक पहिला निर्माणाधीन चक्रपथ र विशेष आर्थिक क्षेत्र निर्माणका लागि सरकारले प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा कांग्रेस नेता डा शेखर कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको विराटनगरले अहिलेसम्म कसैसँग केही नमागी अगाडि बढ्दा राज्यले ध्यान नदिएको गुनासो गरे । उनले विराटनगरको चक्रपथलाई बहुवर्षीय योजनामा राखेर निर्माण गर्न र विमानस्थललाई क्षेत्रीय स्तरको बनाउन प्रधानमन्त्री दाहाललाई आग्रह गरे ।