Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हुम्लाका नागरिकलाई नुननै चर्काे, नौं रुपैयाँको नुन किन्न २५ सयसम्म खर्च


हुम्लाका नागरिकलाई नुननै चर्काे, नौं रुपैयाँको नुन किन्न २५ सयसम्म खर्च

काठमाडौं । सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने रु नौ रुपैयाँको नुनलाई उनीहरूले रु दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् ।

नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महँगो गाडी भाडा तिरेर उनीहरू नुन किन्न जानु परेको छ । नुन लिन जाँदा र घर फर्कन मात्रै उक्त रकम खर्च हुने गरेको स्थानीयले बताए ।

एक दिनको पैदलयात्रामा पुगिने ठाउँमा गाडीमा आवतजावत गर्दा रु २५ सय लाग्ने गरेको रतन रावतले बताए । साल्ट ट्रेडिङको सर्केगाड बजारमा रहेकाले डिपो केन्द्रमार्फत मात्र बिक्री गर्दा तुम्चका ९५ घरधुरीलाई समस्या हुने गरेको रावतको भनाइ छ ।

गाउँपालिका केन्द्र टाढा रहेकाले गाउँपालिकाबाट पाउने अन्य सेवा सुविधाबाट समेत बञ्चित भई वडा कार्यालय जान समेत तीन घण्टा पैदल हिँड्नु पर्ने बाध्यता रहेको स्थानीयको भनाई छ । वडा कार्यालय जैरमा भएकाले तीन घण्टाको उकालो हिँडेर विभिन्न सिफारिस लिनुपर्ने अवस्था छ ।

तुम्च गाउँका नागरिकले नुन सर्केगाड नपुर्‍याई बालुकुना क्षेत्रबाट वितरण गर्दा आफूहरूलाई सहज र खर्च पनि बच्ने उनीहरूको भनाइ छ । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा हुम्लाका प्रमुख राजबहादुर लामा भने दक्षिण भेगका चारवटा गाउँपालिकाका लागि सहज पहुँच पुग्ने गरी बिक्री केन्द्रबाट वितरण हुँदै आएको बताए ।