काठमाडौँ। दिल्ली उच्च अदालतले च्याटजीपीटी निर्माता कम्पनी ओपेनएआईलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ । आउँदो जनवरीमा हुने सुनुवाइमा अदालतमा उपस्थित हुन अदालतले ओपेनएआईलाई निर्देशन दिएको हो । भारतीय समाचार एजेन्सी एसियन न्युज इन्टरनेसनल एएनआईले दायर गरेको मुद्दामा थप सुनुवाइका लागि भारतीय अदालतले ओपेनएआई उपस्थित हुन भनेको हो ।
ओपेनएआईले अनुमतिबेगर आफ्ना समाचार सामग्रीहरू एआई च्याटबट ‘च्याटजीपीटी’ को प्रशिक्षणमा प्रयोग गरेको भन्दै एएनआईले मुद्दा दायर गरेको थियो । त्यसकै सुनुवाइका क्रममा दिल्ली उच्च अदालतले ओपेनएआईलाई दुई महिनापछि हुने अर्को सुनुवाइमा उपस्थित हुन निर्देशन दिएको हो ।
ओपेनएआईले गैरकानुनी रूपमा एएनआईका समाचाहरू संग्रहित गरेर लार्ज ल्यांग्वेज मोेडल (एलएलएम)लाई ट्रेन गराएको एएनआईको आरोप छ । यसले गर्दा च्याटजीपीटीले देखाउने सर्च रिजल्टमा एएनआईका समाचारहरू दुरुस्त नक्कल गरिएकाजस्तो देखिने समाचार एजेन्सीको दाबी छ । यसले स्पष्ट रूपमा प्रतिलिपि अधिकार उल्लंघन गर्ने एएनआईको निवेदनमा भनिएको छ ।
भारतीय सञ्चारमाध्यमले ओपेनएआईविरूद्ध हालेको यो पहिलो मुद्दा भए पनि संयुक्त राज्य अमेरिकामा यस एआई कम्पनीमाथि दर्जनभन्दा बढी मुद्दा दायर भएका छन् । द न्यु योर्क डेली न्युज, सिकागो ट्रिब्युन लगायतले ओपनएआईलाई अनुमतिबेगर वा भुक्तानी नदिइकन आफ्ना समाचार सामग्री एलएलएम मोडलको प्रशिक्षणमा लगाएको आरोप लगाउँदै मुद्दा हालेका छन् ।