Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा ५२ प्रतिशत काम


नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा ५२ प्रतिशत काम

नवलपरासी । नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो । यसबीचमा दुईपटक म्याद थप गरिएको छ । दोस्रो पटक थप गरिएको म्याद सकिने अवस्थामा पुग्दा नवलपरासी पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न भएको योजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिए ।

योजनाको पूर्वी खण्डमा गैँडाकोटको नारायणी पुलदेखि दाउन्नेसम्म ६५ किलोमिटर पर्दछ । चार ‘लेन’मा विस्तार गर्ने सडक दुईतर्फी गरेर एक सय ३० किलोमिटर कालोपत्र गर्नुपर्नेमा हाल दुईतर्फी गरेर ४४ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको सूचना अधिकारी खनालले बताए ।

कालोपत्र गर्नका लागि ६ दशमलव ६ किलोमिटर सडकमा बेस तयारी अवस्थामा रहेको छ । निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले अहिलेको म्याद रहेको अवधिमा नयाँ थप काम नगरेपनि कालोपत्रको लागि तयारी रहेको खण्डमा कालोपत्र गर्ने योजना बनाएको सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरले बताए । बेस तयार भएको काम सके यात्रुलाई छ-सात किलोमिटर थप यात्रामा सहज हुने उनले बताए ।

हालको भौतिक प्रगति चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले प्रतिबद्धता गरेकोभन्दा कम भएको उनको भनाइ छ । म्याद सकिने अवस्थामा रहेकाले अब यो योजना कसरी सम्पन्न गर्न सकिन्छ, कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको योजना उनले बताए । सूचना अधिकारी खनालका यस खण्डमा पर्ने ठूला १२ वटा पुलमध्ये नौवटामा ‘स्ल्याब’ राख्नेसम्मको काम भएको छ । तीन वटाको समेत काम सुरु गरिएको छ । साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा सबैको काम सम्पन्न भएको उनले बताए ।

नारायणगढ–बुटवल खण्डको एक सय १३ किलोमिटर सडक अन्तरगत पूर्वी खण्डमा ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण गर्ने गरी काम अघि बढिरहेको छ । करिब रु १७ अर्ब लागतमा निर्माणको काम जारी रहेको यो योजना लामो समयसम्म निर्माण सम्पन्न नहुँदा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् ।

वर्षा सुरु भएसँगै राजमार्ग हिलाम्य भएको छ । वर्षामा चोरमारा –अरुणखोला–दुम्किबास, जङ्गल क्षेत्रमा रातोमाटो भएको स्थानमा सडक चिप्लो हुँदा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ । अन्य स्थानमा समेत सडक हिलो हुँदा यात्रा कष्टपूर्ण हुने गरेको छ ।

दाउन्ने क्षेत्रमा समेत वर्षाका कारण सडक चिप्लो हुँदा सडक अवरुद्ध हुने गरेको छ । तर दाउन्नेभन्दा अहिले चोरमार, अरुणखोला, दुम्किबासको जङ्गल क्षेत्रमा रातो माटोका कारण सडक चिप्लो भएर अवरुद्ध हुने जोखिम रहेको योजना प्रमुख मगरले बताए । रातो माटोका कारण यातायात अवरुद्ध हुने जोखिम रहेको ठाउँमा निर्माण कम्पनीलाई ग्राभेल थप्न भनेको उनले बताए ।