काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले सार्वजनिक तथा निजी क्षेत्रले निर्माण गर्ने चार आयोजनाको ऋण स्वीकृत गरेको छ । एचआईडीसीएले २८५ मेगावाट क्षमताको अपर तमोर, १०६ मेगावाटको जगदुल्ला, ५६ मेगावाटको सानिमा जुम खोला र ४२ मेगावाटको माथिल्लो मोदी–ए का लागि कुल १३ अर्ब ऋण स्वीकृत गरेको हो । अपर तमोर र जगदुल्ला अर्धजलाशय (पी–आरओआर) तथा जुम खोला र मोदी–ए नदी प्रवाही (आरओआर) आयोजना हुन् । एचआईडीसीएलले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै निजी र सार्वजनिक क्षेत्रले निर्माण अगाडि बढाएका आयोजनामा ऋण स्वीकृत गरेको जानकारी दिएको हो ।
तमोर सानिमा इनर्जीले निर्माण गर्ने २८५ मेगावाटको अपर तमोर जलविद्युत् आयोजनाका लागि ४ अर्ब र विद्युत् उत्पादन कम्पनी लिमिटेडको सहायक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनीले निर्माण गर्ने १०६ मेगावाटको जगदुल्लाका लागि ४ अर्ब ऋण स्वीकृत गरेको छ ।
सानिमा जुम हाइड्रोपावर कम्पनीले निर्माण गर्ने ५६ मेगावाटको सानिमा जुम जलविद्युत् आयोजनाका लागि २ अर्ब र मोदी जलविद्युत् कम्पनीले निर्माण गर्ने ४२ मेगावाटको माथिल्लो मोदी–ए जलविद्युत् आयोजनाका लागि ३ अर्ब ऋण स्वीकृत गरिएको एचआईडीसीएलका कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले जानकारी दिए । एचआईडीसीएलले अहिलेसम्म ऋण र स्वपुँजी गरी २७ अर्ब ३९ करोड लगानी स्वीकृत गरिसकेको बताएको छ । नेपाल राष्ट्र बैंकको पूर्ण नियमनभित्र नगएसम्म एचआईडीसीएलको लगानीको दायरा फराकिलो बनाउन नसकिने गौतमले बताए ।
एचआईडीसीएलले अहिलेसम्म २३६९.४० मेगावाट क्षमताका ३१ वटा आयोजनामा लगानी स्वीकृत गरेको छ । १४६७ मेगावाटका १९ आयोजनामा २१ अर्ब २१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । त्यस्तै ९०२.४० मेगावाटका १२ वटा आयोजनामा ६ अर्ब १८ करोड रुपैयाँ स्वपुँजी लगानी गरेको गौतमको भनाइ छ ।
एचआईडीसीएल जुन उद्देश्यले स्थापना गरिएको थियो, सोहीअनुसार उपलब्धि हासिल हुँदै गएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले जनाए । एचआईडीसीएलसँगको सहकार्यमा निजी क्षेत्रले स्वदेशी पुँजीमै २८५ मेगावाटसम्मका ठूला आयोजना निर्माणमा समेत हिम्मत देखाएको देव बताउँछन् । जलविद्युत्को विकासका लागि मन्त्रालयले विभिन्न कार्ययोजना बनाइरहेको उनको भनाइ छ । अहिले मन्त्रालयले ग्रिन हाइड्रोजनसम्बन्धी नीति बनाइरहेको छ ।
सानिमा इनर्जी प्रालिले अगाडि बढाएको अपर तमोर स्वदेशी निजी क्षेत्रले स्वदेशी पुँजी जुटाएर निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो आयोजना रहेको कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए । स्वदेशी पुँजी र जनशक्तिबाट निर्माण हुने यस आयोजनाले राष्ट्रिय अर्थतन्त्रलाई समेत चलायमान गराउने उनको दाबी छ । अपर तमोर निजी क्षेत्रले निर्माण गरेको हालसम्मको ठूलो आयोजना हो, यसको अनुमानित लागत ५५ अर्ब १५ करोड रहेको ढुंगानाले जनाए । कम्पनीले वित्तीय व्यवस्थापनको काम अन्तिम चरणमा पु¥याएको उनको भनाइ छ ।
असोजसम्ममा वित्तीय व्यवस्थापन सम्झौता गरी निर्माण सुरु गर्ने योजना रहेको र कुल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी उनले जनाए । डोल्पामा निर्माण हुने १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको पनि वित्तीय व्यवस्थापनको काम अन्तिम तयारीमा रहेको जगदुल्ला जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय सापकोटाले बताए । ‘आयोजनाको सम्पूर्ण अध्ययन सकिएको छ । अब फाइनान्सियल क्लोजर गर्ने अन्तिम तयारीमा छौं,’ उनले भने, ‘नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको नेतृत्वमा वित्तीय व्यवस्थापनको तयारी छ ।’
आयोजना विकट स्थानमा रहेका कारण यसअघि निकै समस्या रहेको र १६ देखि १८ घण्टा हिँड्नुपर्ने अवस्थामा पहुँचमार्ग पुग्न लागेको सापकोटाको भनाइ छ । आयोजना बनेपछि अहिलेको कर्णालीको विद्युतीकरण र उक्त क्षेत्रको जनजीवनसमेत सहज हुने उनले जनाए । सानिमा जुम हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्ने ५६ मेगावाटको जुम खोला चाँडै निर्माणको चरणमा जाने प्रवर्द्धक जुगल भुर्तेलले बताए ।
जलविद्युत् निर्माणमा विस्फोटक पदार्थ, लगानीलगायत समस्या रहेको अवस्थामा सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ । मोदी जलविद्युत् कम्पनीले निर्माण गर्ने ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजना पनि लगानी जुटाउने अन्तिम तयारीमा रहेको जनाएको छ । आयोजना निर्माण गर्न एनएमबी बैंकको अगुवाइमा बाँकी ऋण लगानीको जोहो गर्ने तय भएको छ ।