Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महाशिवरात्री पर्व मनाइँदै, पाशुपत क्षेत्रमा चार हजार ९४ सुरक्षाकर्मी परिचालन


महाशिवरात्री पर्व मनाइँदै,  पाशुपत क्षेत्रमा चार हजार ९४ सुरक्षाकर्मी परिचालन

काठमाडौं । आज महाशिवरात्री पर्व भगवान शिवको उपासना गरी मनाइँदैछ । पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्री भगवान शिव उत्पत्ति भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो । हिन्दू धर्ममा यस पर्वको विशेष महत्व रहेको छ ।

महाशिवरात्री आराध्यदेव भगवान शिवको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो । देशभरका शिवालयहरुमा हर्षोल्लासका साथ भगवान शिवको पूजा आराधना गरी यो पर्व मनाइँदै छ । हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ । आजको दिन उपवास गरी शिवको पूजा आराधान गर्नाले भोग र मोक्ष दुवै प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । आज देश विदेशबाट आएका शिवभक्तहरुको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि घुइँचो लागेको छ ।

यसैबीच, पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ आजैदेखि लागू गरेको बताए । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए ।

उनीहरु आज राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा उक्त सुरक्षा योजना बनाइ लागू गरेको उनको भनाई थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली खटिने छ । सो अवसरमा आपतकालीन उद्धार टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको बताए ।