म्याग्दी । राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका—७ चिमखोलामा बाँध र वडानम्बर ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ ।
तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको अपर राहुघाटका इन्जिनियर नरोत्तम कार्कीले विद्युत्गृह, बाँध, सुरुङ र प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । सन् २०२५ को जुन महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको र आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको उनले जानकारी दिए ।
तुँदी पावरले राहुघाटमै अर्को ३७।५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । रघुगङ्गा गाउँपालिका–८ को बन्दीमा बाँध, वडा नम्बर–७ को चिमखोलामा विद्युत्गृह र पाँच हजार तीन सय २८ मिटर लामो सुरुङ निर्माण पूरा भएको छ ।
मङ्गले राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्ने गरी अपर राहुघाटको बाँध निर्माण गरिएको तुँदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताए । दुईवटै आयोजना निर्माणमा रु १३ अर्बभन्दा बढी लगानी हुने अनुमान गरिएको छ ।