काठमाडौं । दाङको घोराही—तुलसीपुर चार लेन सडक विस्तारको काम नेपाल सरकार आफैंले गर्ने भएको छ । त्यसको बजेट समेत सुनिश्चित भइसकेको अर्थ मन्त्रालयले जनाएको छ । सडक विस्तारको जिम्मा पाएको भारतीय निर्माण कम्पनीले पाँच पटकसम्म म्याद थप्दा पनि काम नगरेपछि २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा ठेक्का तोडिएको थियो ।
अहिले सो कामका लागि सरकारले करिब चार अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयले मंसिर ११ गते राष्ट्रिय योजना आयोगलाई पत्र लेख्दै बजेट सुनिश्चित भएको जानकारी गराएको हो । सरकारले घोराही—तुलसीपुर सडक खण्डलाई चार लेनमा विस्तार गर्न भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्राले २०७५ सालमा ठेक्का पाएको थियो ।
उसले पेटी ठेकेदार मार्फत् काम गराउँदै आएको थियो । ३० महिनाभित्र काम सम्पन्न गर्ने जिम्मा पाए पनि सन्तोषजनक नभएपछि स्थानीयले सास्ती बेहोर्दै आएका छन् । त्यसपछि सरकारले ठेक्का सम्झौता रद्द गरेको थियो ।