काठमाडौं जिल्लाअन्तर्गत रहेको कीर्तिपुर नगरपालिकामा आज विभिन्न कार्यक्रम योजना गरी वडा नं.७ लाई बालमैत्री वडा घोषणा गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री श्री सुरेन्द्र राज आचार्य ज्यूको प्रमुख आतिथ्यतामा वैष्णवी माध्यामिक विद्यालयको प्राङ्गणमा आज सो वडालाई बालमैत्री वडा घोषणा गरेको हो ।
आज भएको वडा नं. ७ को सो कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख शुभलक्ष्मी शाक्यले काठमाडौं जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा भएको भनाईलाई अघी सारेकी छिन् । उनले यसका लागि अथक प्रयास गर्नुहुने वडाका सम्पूर्ण स्थानीय लगायत कर्मचारीहरुलाई धन्यवाद ज्ञापन व्यक्त गरेकी छिन् । उनले भनिन्, ‘बालमैत्री वडा घोषणा गर्नु मात्र ठूलो कुरा होईन, कार्यान्वयन झन् चुनौतीपूर्ण छ यसलाई दिगो रुपमा सञ्चालन गर्नुपर्ने भएकाले नगरपालिका, वडा कार्यालय मात्र नभएर विभिन्न संघसंस्था स्थानीय जनसमुदायको पनि उत्तिकै हात तथा भूमिका रहन्छ तसर्थ, यसलाई कायम राखीराख्न सबैलाई आग्रह गर्न चाहन्छु ।’ यसका लागि उनले नगरपालिकालाई अनवत रुपले सहयोग गर्नुहुने संघ–संस्था तथा स्थानीय बासी सबैलाई धन्यवाद ज्ञापन व्यक्त गरेकी छिन् ।
साथै उनले वडालाई मात्र नभई नगरलाई नै बालमैत्री बनाउन लागि पर्न सबैलाई आहुवान् गरेकी छिन् । यसका लागि स्थानीय तथा वडाका सबै कर्मचारीले पहलकदम चाल्नुपर्नेमा जोड दिईन् । कमसेकम तीन वर्षभित्रमा नै नगरलाई बालमैत्री नगर घोषणा गर्ने तयारी रहेको उनले थप जानकारी दिईन् । यसका लागि वडाहरुले पनि आ–आफ्नो वडाहरुमा बालमैत्री लक्षित बजेट छुट्याउन आग्रह गर्दै उनले भनिन्, ‘बालश्रम नगरमुक्त घोषणा गर्नका लागि संघीय सरकारबाट नगरलाई निर्देशन जारी भएको छ । यसका ५१ वटा सूचकमध्ये धेरै कार्य रहेको बालमैत्री मैत्रीलगायत बालश्रममुक्त, अपाङ्गमैत्री, युवामैत्री जस्ता विभिन्न कार्यक्रम घोषणा हुनुपर्ने भनेर हाम्रो जिम्मामा तथा स्थानीय सरकारको जिम्मामा आएको छ । बालविकास सम्बन्धि दशै वटा वडाहरुमा बजेट विनीयोजित गरेको छ ।’
केही समयमै वडालाई मात्रै नभई नगरलाई नै बालमैत्री घोषणा गर्ने तयारी तथा नीति रहेको उनले जानकारी दिईन् । यसैलाई लक्षित गर्दै नगरपालिकाले स्थानीय जनतालाई विभिन्न जिवनउपयोगी सीपहरु सञ्चालन गर्न गईरहेको साथै प्रत्येक विद्यालयहरुमा पनि यस्ता खालका शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने उद्देश्यका साथ लाग्नुपर्ने बताईन् ।
यसका लागि उनले सम्पूर्ण जनप्रतिनिधिलगायत वडाका कर्मचारी, स्थानीय बासिन्दाको साथ र सहयोगको अपेक्षा रहेको बताईन् । यसरी अगाडि बढ्यो भने कीर्तिपुरनगरपालिकालाई ३–४ वर्ष भित्र नै बालमैत्री घोषणा गर्न सक्षम हुने कुरालाई अघी सारिन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजन केसी लगायत विभिन्न वडाध्यक्ष, जनप्रतिनिधि, सम्बन्धित निकाय तथा स्थानीय जनताहरुको बाक्लो उपस्थिति रहेको थियो ।