काठमाडौं । सभापति रवि लामिछानेको समर्थनमा पोखरामा नाराबाजीसहित प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्तामाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न खोजेपछि तीन राउन्ड अश्रुग्यास प्रहार गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।
लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउनु अघिदेखि नै मंगलबार रास्वपाका कार्यकर्ताहरूले सडकमा प्रदर्शन थालेका थिए । रास्वपा कार्यकर्ता वाई चोकतर्फ गइरहेका थिए । सोही क्रममा प्रहरीले उनीहरूलाई रत्नचोकमा नै रोकेर अश्रुग्यास हानेको हो । लामिछानेको समर्थनमा प्रदर्शन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।