काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार अब उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुने बताएका छन् । बिहीबार सिंहदरबारस्थित सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले पूर्व–पश्चिम राजमार्गको काम पर्याप्त भइसकेको दाबी गर्दै अब सरकारको काम उत्तर–दक्षिण राजमार्गमा केन्द्रित हुने बताए । ‘‘पूर्व–पश्चिम सडक चाहिँ अलि पर्याप्त भइसके भन्ने लाग्छ । कम्पिलिट गर्नुपर्ने त छ नै ।
पूर्व–पश्चिम राजमार्ग छँदैछ । त्यसलाई हामीले स्तरोन्नतिको काम गरिरहेका छौँ । कुनै सेक्टरमा वर्ल्ड बैङ्कले सहयोग गरेको छ । कुनैमा एडिबीले सहयोग गरेको छ । यसलाई पनि हामीले चार लेन र ६ लेनमा स्तरोन्नति गर्ने । अब भित्री मधेशलाई लक्षित गरेर बनाइएको सडक हो मदन भण्डारी राजमार्ग ।
त्यो पनि पूर्व–पश्चिम नै थ्रु आउट हुने हो । त्योभन्दा माथि पुष्पलाल मध्यपहाडी लोकमार्ग पनि छँदैछ ।,’’ मन्त्री ज्वालाले भन्नुभयो, ‘‘त्यो पूर्वपश्चिम खुलिसक्यो । त्यसको बाँकी ठाउँमा स्तरोन्नति गर्नुछ । अनि चार वटा ठुल्ठुला सडकहरू बनिसकेका छन् । तयारी भएका छन् भने पछि पूर्व–पश्चिम यातायातको सन्दर्भमा धेरै ठुलो समस्या अब हुन्छ जस्तो लाग्दैन ।’’
मन्त्री ज्वालाले सो राजमार्ग व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले यसलाई उच्च प्राथमिकता दिएर सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे । उनले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग जनतालाई सास्ती पनि नहुने र विकास निर्माणको काम पनि अघि बढ्ने हिसाबले अघि बढाउने आश्वासन दिए ।
‘‘१६ औँ योजनामा आयोजनाहरूको तय गर्छौँ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा पनि उत्तर–दक्षिण सडकहरूलाई बढी प्राथमिकता दिन्छौँ । यो चाहिँ तीन वटा कोरिडोरहरू त छँदै छन् अत्यन्तै महत्त्वपूर्ण । त्यसबाहेक पनि जस्तो महाकाली कोरिडोरको कुरा छ । त्यस्तै सेती राजमार्गको कुरा छ । कर्णाली राजमार्ग छ । राप्ती राजमार्ग छ । यो घुर्मी–कटारी–सोलु राजमार्ग छ ।