काठमाडौं । माथिल्लो अरुण जलविद्युत् परियोजनाको पूर्वतयारीका लागि सरकारले विश्व बैंकबाट करिब ८० करोड रुपैयाँ ऋण लिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट प्राप्त हुने ६० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको औपचारिक आइतबार जानकारी गराइएको हो । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको १०६१ मेगावाट क्षमताको माथिल्लो अरुणमा विश्व बैंकले कुल ५० करोड डलर प्रतिबद्धता जनाएको छ ।
बाँकी ५० करोड डलर अन्य दातृ निकायबाट ऋण जुटाइदिन अग्रसरता लिने भएको छ । बाँकी लगानी जुटाउन अन्य दातृ निकाय ओपेक, एसियाली विकास बैंक, युरोपेली लगानी बैंक लगायतसमक्ष विश्व बैंकले नै अग्रसरता लिने भएको हो । ३० प्रतिशत स्वपुाजी र ७० प्रतिशत ऋण रहने आयोजनाका लागि करिब १ अर्ब डलर विदेशी निकाय र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को नेतृत्वमा स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत लगानी हुनेछ ।