काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुरमा यस पटक स्वतन्त्र उम्मेदवारहरुको चर्चा बढी छ । गत स्थानीय तह निर्वाचनमा भन्दा उपनिर्वाचनमा धेरै संख्यामा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारले आफ्नो चुनावी प्रचारलाई तीव्र बनाइरहेका छन् । राजनीतिक दलहरुप्रतिको बद्दो वितृष्णाको झल्को अहिले कीर्तिपुर नगर उपनिर्वाचनमा देखिएको छ ।
दलहरुले केहि गरेनन् भन्दै स्वतन्त्र उम्मेद्वारी दिएका ११ जना अहिले चुनावी प्रचारमा छन् । मतदातालाई आफूतिर आकर्षित गर्न कतिपय स्वतन्त्र उम्मेदवारले अनेकौं हर्कत गरिरहेका छन् । कसैले काठमाडौंका मेयर बालेन शाह, कतिले हर्क साम्पाङलाई जोडेर चुनावी प्रचार गरिरहेका छन् । त्यस मध्ये एक हुन साइकल यात्रीका नामले चिनिने स्वतन्त्र उम्मेदवार, कवि कुमार महर्जन ।
उनी अहिले एक साइकल यात्रीका नामले परिचित छन् ।
स्वास्थ्यका लागि साइकल यात्रा भन्ने नारा लगाउंदै हिँडेका महर्जनले कीर्तिपुरका अधिकांशलाई साइकल यात्रामा समावेश गरेका छन् । कीर्तिपुरका युवामा अग्रपङतीमा आउने महर्जनले आफ्नो परिचय एक असल व्यक्तिका रुपमा स्थापित गरेका छन् । तर, स्थानीय तह उपनिर्वाचनमा मेयरको उम्मेदवार भएका महर्जनले राजनीतिमा कस्तो छलाङ मार्ने हुन् त्यो आगामी निर्वाचनको मतले देखाउने छ ।
उनले अहिले कीर्तिपुरका जनतामाझ आफू काठमाडौंका मेयर बालेन शाह जस्तै निडर भएको भन्दै प्रचार गरिरहेका छन् । विभिन्न सामाजिक सञ्जालमा बालेनको फोटो र भिडिओ बनाई पोष्ट गरिरहेका छन् । यसरी उनले आफ्नो चुनावी प्रचारमा हदैसम्मको उपाय अपनाईरहेका छन् । यसका साथै उम्मेदवारी दर्ता, घरदैलो कार्यक्रम तथा चुनावी र्यालीमा समेत उनले बृद्धहरुलाई प्रयोग गरिरहेका छन् ।
७०÷८० माथिका बृद्ध ‘बा’हरुलाई हात समाउंदै चुनावी प्रचारमा हिँडाइ रहेको भिडिओ फोटो सामाजिक सञ्जालमा यत्रतत्र छन् । उसो त, चुनावी प्रचारमा बालबालिका, बृद्धबृद्धा प्रयोग गर्नु कानुन विपरित हो । तर, यसलाई कसले हेर्ने ? यहाँका सबैलाई चुनाव जो लागिरहेको छ । उनलाई कीर्तिपुरकै राष्ट्रिय स्वतन्त्र पार्टीका केहि कार्यकर्ता, काँग्रेस र एमालेबाट असन्तुष्ट बनेका कार्यकर्ताहरुबाट समेत सहयोग प्राप्त भईरहेको छ । त्यस्तै केहि स्वघोषित अभियन्ताहरुले पनि उनलाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका छन् । काठमाडौंका मेयर बालेन शाह जस्तै बन्न त्यहि सहज छैन ।
कीर्तिपुरका एक स्थानीयले भने, ‘अहिले स्वतन्त्र उम्मेदवारको संख्या बढ्दो छ । कसलाई भोट दिनु सबै पहिलेकै दलका कार्यकर्ता हुन’ । कहिले साइकल र्याली त, कहिले सभा तथा घरदैलोलाई तीव्र बनाइरहेका महर्जनले कीर्तिपुरको विकासकालागि प्रतिवद्धता सार्वजनिक गरेका छन् । जुन कुनै राजनीतिक दलको भन्दा फरक छैन् । उनिमात्रै होइन अन्य १० जना स्वतन्त्र उम्मेदवारहरु आनन्द महर्जन, धर्म रन्त मानन्धर, नरेश राज पाण्डे, नरेश श्रेष्ठ, नवरथ कुमार बानिया, प्रेम बहादुर महर्जन, मिम महर्जन, राजमान महर्जन, रामकृष्ण महर्जनले पनि दलकै लयमा प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
वास्तवमा प्रतिवद्धता र भाषणले मात्र हुने केही हाईन, कीर्तिपुर नगरका जनतालाई चाहिएको के हो ? त्यो महत्वपूर्ण विषय हो । कीर्तिपुरमा अहिले सबैभन्दा मुख्य समस्या भनेको कीर्तिपुर नगरपालिका भित्रको नीतिगत भ्रष्टाचार हो । वर्षाैंदेखि एकै ठेकेदारको दबदबा, सुशासन र पारदर्शितामा कमजोरी यस्ता धेरै समस्याहरु छन् । कीर्तिपुर एक शैक्षिक शहरको रुपमा विकास गर्नु, यहाँको मौलिकता तथा संस्कार र संस्कृतिको जर्गेना गर्नु आजको आवश्यकता हो । स्थानीयलाई निशुल्क स्वास्थ्य सेवा, राम्रो अस्पताल, र भएका संस्थाहरुमा पारदर्शीता र जनताप्रतिको उत्तरदायित्व नै आजको आवश्यकता हो ।
कीर्तिपुरलाई पर्यटन शहर बनाउनुपर्ने, मौलिक घरहरु तथा व्यवस्थित बाटोका साथै व्यवस्थित सडक बनाउनपर्नेु, भाडामा बसेकाहरुको विषयमा गम्भीर हुनुपर्ने यस्ता धेरै विषयहरु छन् । यसकासाथै, कीर्तिपुरका अधिकांश निजी स्कूलहरुले नेपाल भाषा पठन–पाठन गर्न अटेर गरिरहेका छन्, यो विषयमा पनि आगामी नेतृत्व गम्भीर हुन आवश्यक छ ।