काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले पछिल्लो समय देशको अर्थतन्त्रमा सुधार हुँदै गएको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य सङ्घले मङ्गलबार हेटौँडामा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री महतले सरकारले लिएको सुधारको नीतिका कारण अर्थतन्त्र पछिल्लो समय सुधारोन्मुख अवस्था रहेको बताए ।
उनले उद्योगी व्यवसायीको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुहुँदै अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव विस्तारै हटेको, तर सबै हटेको अवस्था भने नरहेको बताए । वित्त व्यवस्थापनमा देखिएको समस्या, मौद्रिक नीति, आन्तरिक तथा बाह्य कारणले अहिले समस्या आएको भन्दै उहाँले जग्गा र शेयरमा बढी लगानी भएका कारण अहिलेको समस्या आएको जानकारी दिए ।
उनले लगानीका नयाँ क्षेत्रको खोजी हुनुपर्ने भन्दै सरकारको मात्र प्रयासमा समस्या समाधान नहुने भएकाले निजी क्षेत्रको समेत सहयोग आवश्यक रहेको बताए। नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यसमिति सदस्य कृष्ण कटुवालले बढ्दो व्याजदर घटाउनुपर्ने बताए ।
मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले एक अङ्कको मात्र व्याजदर हुने नीति आवश्यक भएको बताए । अर्थमन्त्री महतलाई ज्ञापनपत्र बुझाउँदै उनले विद्युत महशुलमा रहेको डिमाण्ड शुल्क हटाउन माग गरे । कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोदसिंह रानाभाटलगायतले सरकारले उद्योगी व्यवसायीलाई लगानीको वातावरण निर्माण गर्न माग गरे ।