काठमाडौं,भदौ २९। सफ्टवेयरमा समस्या देखिएपछि मधेश प्रदेश सरकारको आर्थिक कारोबार दुई महिनादेखि ठप्प रहेको छ । संघीय सरकारले प्रदेशलाई उपलब्ध गराउने बजेट प्रदेश सरकारको आर्थिक कारोबार गर्ने सफ्टवेयर प्रोभिन्स लाइन मिनिस्ट्री बजेटरी सिस्टममा नदेखाएपछि मधेश प्रदेश सरकारको चालू आवको आर्थिक कारोबार ठप्प हुन पुगेको छ । संघीय सरकारले लाइन मिनिस्ट्री बजेटरी इन्फर्मेसन सिस्टम एलएमद्वारा प्रदेश सरकारहरूको प्रोभिन्स लाइन मिनिस्ट्री बजेटरी स्टिममा बजेट पठाउने गर्छ ।
प्रदेशले प्रदेश लेखा नियन्त्रक कार्यालयको टिएसए सफ्टवेयरद्वारा विभिन्न मन्त्रालय तथा मन्त्रालयमातहत रहेका कार्यालयलाई निकास दिने गर्छन् । अर्थ मन्त्रालयका एक कर्मचारीका अनुसार संघीय सरकारको एलएमबिआइएस, प्रदेश सरकारको पिएलएमबिआइएस र प्रदेश लेखा नियन्त्रक कार्यालयका टिएसए सिस्टम एक–आपसमा जोडिएको हुन्छ । यसरी संघीय सरकारले पठाएको पैसा प्रदेश सरकारको सिस्टममा देखिएपछि प्रदेश लेखा नियन्त्रक कार्यालयले सोही आधारमा मन्त्रालयको भुक्तानी आदेश अनुसार रकम निकासा दिने गर्छन् ।
तर, तीन निकाय जोडिएको सफ्टवेयरमा समस्या देखिएकाले आर्थिक कारोबार ठप्प हुन पुगेको मधेश प्रदेशको अर्थ मन्त्रालयले बताएको छ। यसरी सफ्टवेयरमा समस्या आएपछि मधेश प्रदेशका कर्मचारीले साउनदेखि तलबसहितका सेवा–सुविधा पाउन सकेका छैनन् । मन्त्रालयका दैनिक कार्यमा खर्च हुने रकमको पनि भुक्तानी हुन सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीले भने संघीय र स्थानीय नभई प्रदेश सरकारलाई मात्रै सफ्टवेयरको समस्या रहेको ती कर्मचारीले बताएका छन् ।मधेश प्रदेशका लेखा नियन्त्रक कार्यालयका प्रवक्ता मनोज झाले सफ्टवेयरमा समस्या देखिएकाले भुक्तानीहरू ठप्प रहेको स्वीकार गरे । सिस्टम ठीक नभएकाले प्रदेश सरकारको बजेट खर्चको कुनै हिसाब नलेखिएको उनले बताए ।