Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तीन जहाज खरिदका लागि ३ प्रस्ताव


तीन जहाज खरिदका लागि ३ प्रस्ताव

काठमाडौँ — नेपाल वायुसेवा निगमले तीनवटा साना जहाज खरिदका लागि सार्वजनिक गरेको बोलपत्रमा तीनवटा कम्पनीले प्रस्ताव बुझाएका छन् ।

नेपाल वायुसेवा निगमका अनुसार 'लेट' विमान उत्पादन गर्ने एयरक्राफ्ट इण्डष्ट्रिज चेक रिपब्लिक, 'डोर्नियर' उत्पादन गर्ने भारतको हिन्दुस्तान एरोनटीक्स लिमिटेड र क्यानेडीयन जहाज 'टुइनअटर' निर्माता कम्पनी डि ह्याभील्यान्ड एयरक्राफ्ट कम्पनीले निगमलाई जहाज बिक्री गर्न प्रस्ताव पेस गरेका छन् ।

निगमले पर्यटनमन्त्री सुदन किरातीको ‘विशेष निर्देशन’ अनुसार दुर्गम क्षेत्रमा उडान भर्न सक्ने ३ वटा साना जहाज खरिद गर्न कात्तिक ५ गते ४५ दिनको म्याद दिई आरएफपी (बोलपत्र) आह्वान गरेको थियो । बोलपत्र बुझाउने अन्तिम दिन मंगलबार थियो ।


‘तीनवटा बोलपत्र दर्ता भएका छन्,’ निगम स्रोतले भन्यो, ‘पहिले प्राविधिक प्रस्ताव हेर्छौं अनि आर्थिक प्रस्ताव खोल्ने छौं ।’ ४८ अर्ब रुपैया ऋणमा रहेको निगमले सोल्टी होटलमा रहेको शेयर बिक्रि गरी झन्डै ३ अर्ब रुपैयामा तीनवटा साना जहाज खरिद गर्ने भनेको छ । यसैबीच निगमले एउटा मात्रै कम्पनीलाई ठेक्का दिलाउने गरी बोलपत्र आह्वान गरेको उजुरीमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सोधेको पत्रको जवाफ दिएको छैन ।

कार्यालयका सहसचिव विष्णुप्रसाद शर्माका अनुसार निगमको बोलपत्रविरुद्ध गत सोमबार परेको उजुरीमा खरिद अनुगमन कार्यालयले निगमलाई सोधेको पत्रमा जवाफ नपठाएको बताए ।

‘तीनवटा साना जहाज खरिद गर्न नेपाल वायुसेवा निगमले जारी गरेको बोलपत्रमा मिलोमतो भएको भन्दै परेको उजुरीमा सार्वजनिक खरिद अनुगमन कार्यालयले निगमलाई सोधेको थियो । तर उसले अहिलेसम्म लिखित जवाफ पठाएको छैन,’ प्रवक्तासमेत रहेका शर्माले भने ।