काठमाडौं । बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक व्यक्तिसँग पैसा लिएको आरोप लागेपछि प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले थप छानबिनका लागि शाहीलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको बताईएको छ ।
उपत्यका प्रहरी कार्यालयको निर्देशन अनुसार, यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ । समितिले दिने प्रतिवेदनका आधारमा उनलाई कस्तो किसिमको कारबाही हुने टुंगो लाग्ने बताइएको छ ।
ललितपुर प्रहरीका अनुसार, इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ । उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ । यो घटनामा संलग्न केहीलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिइसकेको समेत बताइएको छ ।