वीरगञ्ज । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा रु ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व सङ्कलन गरेको छ । महानगरले सङ्कलन गरेको उक्त राजस्व अघिल्लो आवको तुलनामा रु चार करोड ४५ लाख ४३ हजार नौ सय ३० ले बढी हो । महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले गत पुसमा बजेट संशोधन गर्दै रु ९० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेपनि सो अवधिमा ६१ करोड ४७ लाख राजस्व सङ्कलन गरेको बताए । राजस्व महाशाखा प्रमुख कर्णले वीरगञ्ज महानगरमा गत आवमा करको दायरा पनि बढाउन नसकिएको बताए । महानगरले गत आवमा सबैभन्दा धेरै राजस्व सम्पत्ति करमा उठाएको छ ।
सो शीर्षमा महानगरले रु २० करोड छ लाख ८४ हजार राजस्व सङ्कलन गरेको छ । त्यस्तै घरबहाल करबापत रु ११ करोड ७७ लाख ४४ हजार आम्दानी गरेको छ । महानगरको गत आवमा पुँजीगत खर्च उत्साहजनक नभएको देखिएको छ । महानगरले पुँजीगततर्फ रु एक अर्ब आठ करोड ९२ लाख विनियोजन गरेकोमध्ये सो अवधिमा रु ६८ करोड १० लाख रकम खर्च गर्न सकेको हो । त्यस्तै चालु खर्चतर्फ रु दुई अर्ब ५६ करोड ५८ लाख बजेट विनियोजनमध्ये एक अर्ब ७५ करोड ६९ लाख रकम खर्च गरेको छ ।