Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाली प्याजलाई पनि भारतीय कर लगाउँदै व्यापारी, प्याजबाट सुरुभयो भारतीय दादागिरी !


नेपाली प्याजलाई पनि भारतीय कर लगाउँदै व्यापारी, प्याजबाट सुरुभयो भारतीय दादागिरी !

काठमाडौं । नेपालमा दैनिक उपभोग्य बस्तुको सबै भन्दाबढी भारतबाट आयात हुन्छ । त्यसमा पनि दैनिक भान्साकालागि चाहिने दाल, चामल, टमाटर, प्याज, खुर्सानी र अधिकांस फलफुल उतैबाट आयात हुन्छ । यहि मेसोमा भारतले उत्पादनको अबस्था हेरेर चर्काे कर लगाउने गर्छ । यो पटक प्याजमा ४० प्रतिशत निर्यात कर लगाएपछि अहिले नेपाली भान्सा महंगो भएको छ । भारतले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएपछि   प्याजको चर्चा हुन थालेको हो । बजारमा भएका प्याजपनि गोदामै थन्कीन थालेका छन् भने, बजारमा आएका प्याजको भाउ उच्च छ । भारतीय बजारको प्रत्यक्ष प्रभाव पर्ने नेपाली बजार सोहि अनुरुप घटबढ हुने गर्छ ।

नेपालमा उत्पादन नभएकाले भारतीय बजारबाट आउने हरेक तरकारी तथा अन्य सामानले नेपाली उपभोक्ता मारमा पर्ने गरेका छन् । गत साउन ४ मा निर्यातमा प्रतिबन्ध लगाएलगत्तै व्यवसायीले चामलको मूल्य बढाएका थिए । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग आफैंले त्यति बेला गरेको अनुगमनमा पहिलेकै चामलमा मूल्य बढाइएको भेटिए पनि कारबाही गरेन । करिब तीन महिना पुग्ने गरी चामल मौज्दात रहेको व्यापारीहरूको भनाइलाई समर्थन गर्दै सरकारले सकैैलाई कारबाही गरेको थिएन ।

बिचौलिया र व्यवसायीको मानमौजिका कारण नेपाली उपभोक्ताहरु बर्षादेखि ठगिदै आएका छन् । अहिले प्याजमा भारतले कर लगाएसंगै कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याजको स्टक सकिएको छ । आयातित प्याज बिक्री भइसकेको र आयातकर्ताले अहिले भारतबाट प्याज नल्याउँदा स्टक सकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

सबैजसो तरकारी तथा फलफूलको दैनिक मूल्य सूची सार्वजनिक गर्दै आएको समितिले मंगलबार प्याजको मूल्य पनि तोकेको छैन । ‘प्याजको स्टक सकिएको छ, त्यसकारण मंगलबार प्याजको मूल्य नतोकिएको हो, मूल्य नतोकिएपछि सूचीमा राखिएन’ श्रेष्ठले भने । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएपछि कालीमाटी बजारमा आइसकेको छैन ।

यसअघि नै आयात भइसकेको प्याजको स्टक सकिएको हो । अब भने नयाँ मूल्यमा प्याज आयात गरी बजारमा आउने समितिले जनाएको   छ । सोमबार कालीमाटीमा प्रतिकिलो ७५ देखि ८० रुपैयाँसम्म प्याजको कारोबार भएको थियो । भारतमा उत्पादन कम भएपछि मूल्य बढ्ने त्रासले भारतको वित्त मन्त्रालयले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको छ । डिसेम्बर ३१ सम्म लागू हुनेगरी यो कर लगाइएको हो । यो करका कारण अब आयात हुने प्याजको मूल्य बढ्नेछ । यद्यपि कतिपय व्यापारीले प्याजमा कालोबजारी गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार अनुगमन समेत गरेको थियो ।

अनुगमनका क्रममा ५ व्यापारीलाई कारबाहीस्वरुप जरिवाना तिराइएको थियो । नेपाल सरकारले यसअघि बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउँदा पनि लगत्तै बजारभाउ अकासिएको थियो । बजेट भाषणको अघिल्लो दिन खुद्रा मूल्य प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्म पर्ने प्याज बढेर प्रतिकिलो ९० देखि १ सय रुपैयाँसम्म पुगेको थियो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही गोदाममा छापा मारेर कारबाही गर्ने चेतावनी दिएपछि मूल्य केही घटेको थियो ।

अधिकांश नेपालीको भान्सामा प्रयोग हुने प्याजको स्वदेशी उत्पादन पर्याप्त नभएका कारण आयात गर्नुपर्ने परिस्थिति छ । भन्सार विभागको तथ्यांक अनुसार गएको आर्थिक वर्षमा भारतबाट ७ करोड १० र चीन ४ करोड ६३ लाख रुपैयाँको प्याज आयात गरिएको थियो । भारतले कर लगाएको बहाना बनाएका व्यवसायीले भने स्वदेशी र अन्य मुलुकबाट भित्र्याइएको प्याजमा पनि मूल्य बढाएका छन् । अदृश्यरुपमा भारतको दादागिरीमा नेपाली ब्यापारी र विचौलियाहरुले नेपाली उपभोक्ताहरुलाई ठग्दै आइरहेका छन् । यस विषयमा राज्य तै चुप मैचुप जस्तो भएर बसेको छ । महंगी तथा जन चासोका विषय राख्ने सदन एक महिनादेखि अबरुद्ध छ । यसले पनि आमजनचासोका विषयहरु बाहिर आउन सकेको छैन । अहिले बजारमा आर्थिक तरलता छ । यस्तो अबस्थामा दैनिक उपभोग्य बस्तुहरु महंगीदै जादा उपभोक्ताको भान्स बन्दहुने अबस्था धरै टाढा छैन ।