Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

११ सहकारीबाट ३० लाख चोरीको आरोपमा ६ जना पक्राउ


११ सहकारीबाट ३० लाख चोरीको आरोपमा ६ जना पक्राउ

काठमाडौं । झापामा सहकारीको रकम चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ फाखेल घर भएका २१ वर्षीय सुनिल भनिने सन्तबहादुर स्याङ्तान, सोही ठाउँका २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, ३० वर्षीय सोमलाल स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुरगढी गाउँपालिका–७ का २८ वर्षीय अजय राना मगर छन् ।

उनीहरूले ३० लाख १६ हजार ६८७ रुपैयाँ बराबरको चोरी गरेको झापा प्रहरीका प्रवक्ता तथा डीएसपी कृष्ण चन्दले बताए । अहिलेसम्म झापाका मात्रै ११ वटा सहकारीमा यो समूहले चोरी गरेको खुलेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयको समन्वयमा उनीहरूलाई सुनसरीको इटहरीबाट पक्राउ गरी झापा ल्याइएको डीएसपी चन्दले बताए । पक्राउ परेकाहरूविरुद्ध चोरीको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

चोरी गर्नका लागि ताला फोड्न प्रयोग भएको मार्तोल, पेन्चिस, पिलास लगायतका सामान पनि प्रहरीले बरामद गरेको छ । चोरी गर्ने बेला लगाइएका कपडासमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।