काठमाडौं, भदौ २५ । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाड सम्म विद्युत पुर्याएको हो । प्राधिकरणले आइतबारदेखि गमगाड लगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन भएको हो ।
प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरुमा विद्युत आपूर्ति गर्दै आएको थियो । मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगे सँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत पुगेको छ। अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ। हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा पुर्याउन ठेक्का सम्झौता सम्पन्न भइ सर्भे भइरहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत् समय समय बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने बताएका छन् । उनले राष्ट्रिय प्रसारण लाइन पुगेकाले विद्युतीकरण तीव्र रुपमा अगाडि बढाइने बताएको छ । यसैगरी, बाढीपहिरोबाट विद्युत सबस्टेसनका संरचनाहरुमा पनि क्षति पुगेको थियो ।
बाढी पहिरोले क्षति पुर्याएको नहरको पुनर्निर्माण र मर्मत जलविद्युत्गृह सञ्चालनमा ल्याइएको थियो।मुगुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३,११ केभी सबस्टेसन ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताएका छन् ।