काठमाडौँ — हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले नेपाली सेनाका बरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आयोगमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् ।
आयोगलाई काम सुरु भएको मितिले ३० दिनभित्र प्रतिवेदन पेस गर्न समयावधि तोकिएको छ । बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन अरुण मल्ल र चार जना चिनियाँ पर्यटकको निधन भएको थियो । चिनियाँ नागरिकको निधन भएकोमा सरकारले दुस्ख व्यक्त गर्दै मृतकका परिवार र चीन सरकारप्रति समवेदना व्यक्त गरेको छ ।