काठमाडौं, असोज ३ । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पेट्रोलियम पदार्थको ढुवानी बिमा शुल्कमा अनियमितता गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय र राजस्व अनुसन्धान विभागमा उजुरी गरेको छ । आयल निगमको डिपोबाट पम्पसम्म इन्धन ढुवानी गरेबापत बिमा शुल्कमा बर्सेनि ठूलो परिमाणमा रकम अपचलन गरेको भन्दै पेट्रोलियम व्यवसायी संघ नेपालले उजुरी दिएको हो । ढुवानी बिमा रकममा अपचलन गरेको भन्दै केही पम्प व्यवसायीले नयाँ संघ खोलेर संस्थापक रुपमै उजुरी दिएका हुन् ।
एसोसिएसनले ढुवानी बिमा शुल्कका नाममा संकलन गरेको रकमको हिसाब पारदर्शी रूपमा नदेखाई सरकारलाई बुझाउनुपर्ने राजस्वसमेत चुहावट गरेको संघको आरोप छ । यसले मुलुकभरका पेट्रोलियम व्यवसायीलाई मूअ कर बिजक बिल दिनबाट वञ्चित गरेको संघका महासचिव आत्माराम थापाले पेस गरेको उजुरीमा उल्लेख छ ।बिल बिजक नदिँदा वार्षिक रूपमा आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने लेखापरीक्षण प्रतिवेदनमा समेत व्यवसायीलाई असर परेको छ । बिमाका नाममा रकम अपचलन गर्ने संघसंस्था वा सञ्चालकलाई इन्धन डिपोबाट मार्गस्थल बिमाका नाममा मूअ कर बिजक बिललाई मात्र मान्यता हुने गरी चिर्कटो रसिदबाट बिमा शुल्क असुल्ने कार्य बन्द गराइदिन अनुरोध छ, जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा भनिएको छ,संघको पत्रसँगै जिल्ला प्रशासन कार्यालयले ढुवानी बिमा सम्बन्धमा स्पष्ट पारिदिन निगमलाई पत्र पठाएको छ ।
निगमको राय, सुझाव, सम्बन्धित कागजातको प्रमाणित प्रतिलिपिसहित उपलब्ध गराएर छानबिनमा सहयोग गर्न पत्र पठाइएको हो । संघले राजस्व अनुसन्धान विभागलाई पठाएको पत्रमा कर छलीमा सक्रिय संस्थालाई तत्काल आवश्यक निर्देशन दिन पनि अनुरोध गरिएको छ । पम्प व्यवसायीबाट उठाइएको शुल्क पारदर्शी भएन । निगमले इन्धन बिक्री गरेको परिमाण, बिमा कम्पनीमा तिरेको रकम र एसोसिएसनले उठाएको रकम नै फरक छ । २०७९,८० मा पेट्रोल र डिजेल बिक्री गरेका हिसाबले ढुवानी बिमा शुल्क १८ करोड १५ लाख रुपैयाँ संकलन भएको छ । तर एसोसिएसनले राष्ट्रिय बिमा कम्पनीमा १२ करोड ३ लाख रुपैयाँ मात्रै शुल्क बुझाएको छ ।
गत आर्थिक वर्ष २०७८,७९ मा पेट्रोल र डिजेल बिक्री गरेका हिसाबले ढुवानी बिमा १६ करोड ७९ लाख रुपैयाँ संकलन भएको छ । तर एसोसिएसनले ११ करोड ५४ लाख मात्रै बिमा शुल्क तिरेको तथ्यांकमा देखिएको छ । एसोसिएसनले भने ०.०८ प्रतिशतको हिसाब रकम उठाउँदै आएको थियो । ०.०८ प्रतिशतका हिसाबले रकम झन् बढी हुने व्यवसायी बताएका छन्।
बिमा शुल्कमा बर्सेनि ठूलो परिमाणमा रकम अपचलन गरेको आरोप लागेपछि एसोसिएसनले केही मात्रामा शुल्क घटाइसकेको छ । बिमा शुल्कका नाममा निगमले प्रतिलिटर ०.०६ प्रतिशतका दरले रकम उपलब्ध गराउँदै आएको छ । तर एसोसिएसनले पम्प व्यवसायीबाट ०.०८ प्रतिशतका दरले रकम उठाउँदै आएको थियो । व्यवसायीबाट उठाइएको रकम अपचलन भइरहेको आलोचना भएपछि एसोसिएसनले शुल्क घटाएको हो । भ्याटसहित गरेर गरेर ६ पैसा ६७ दाम उठाउने निर्णय भएको एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले बताए ।