काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने भएका छन् । यही कात्तिक १६ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको हो ।
राष्ट्रपति फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र त्यसपछि सङ्घीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न यही कात्तिक २२ गते त्यसतर्फ प्रस्थान गर्ने छन् । उनले भ्रमण सकेर मङ्सिर १ गते स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम तय भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो बारे जानकारी दिए । उनले भनिन्, ‘‘राष्ट्रपति रामचन्द्र पौडेलबाट फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र त्यसपछि सङ्घीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न मिति २०८० साल कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मिति २०८० मङ्सिर १ गतेका दिन स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।
यसैगरी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित परियोजना–आयोजनाका लागि २६१ राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । मन्त्री शर्माले चीनको साङ्घाईमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई स्वीकृति दिने निर्णय बैठकले गरेको जानकारी दिए । त्यस्तै, बैठकले यससँगै अन्य विभिन्न १८ वटा निर्णय गरेको छ ।