काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावमा ७८ वर्षीय डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएका छन् । कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गरे । जित्नका लागि कम्तीमा २७० सिटमा विजय हुनुपर्ने थियो ।
उनले विजयले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न प्रतिक्रिया उत्पन्न गराएको छ, विशेषगरी अमेरिका–चीन सम्बन्ध, जलवायु परिवर्तन नीतिहरू र नाटो जस्ता मुद्दाहरूमा गहिरो प्रभाव पर्ने अनुमान गरिएको छ ।
ट्रम्प २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहेका थिए । उनको २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा भएका थिए । बहुप्रतिक्षित सातवटा स्वींग स्टेट अरिजोना (११), जर्जिया (१६), मिचिगन (१५), नेभाडा (६), पेन्सिलभेनिया (१९), विस्कन्सिन (१०) र नर्थ क्यारोलिना (१६) को अधिकांश मत र इलेक्टोरल कलेज पनि उनकै पक्षमा परेपछि ट्रम्पले विजय हात पारेका हुन ।
आजको परिणामले तल्लो सदन र माथिल्लो सदन दुवैमा रिपब्लिकन पार्टीको बहुमत हुने पक्का भएको छ। अमेरिकी माथिल्लो सदन सिनेटमा बहुमतका लागि आवश्यक ५१ मध्ये ५१ स्थानमा रिपब्लिकन पार्टीले विजय प्राप्त गरिसकेको छ।तल्लो सदन हाउसमा पछिल्लो परिणाम अनुसार आवश्यक २१८ मध्ये रिपब्लिकन पार्टीले दुई सय दुई र डेमोक्रेटिक पार्टीले १७५ प्रतिनिधि प्राप्त गरेको छ।
ट्रम्पको दोस्रो कार्यकालले ‘अमेरिका प्रथम’ नीति अघि बढाउँदै अमेरिका र अन्य राष्ट्रहरूबिचको सम्बन्धलाई पुनः परिभाषित गर्ने सम्भावना छ । व्यावसायिक पृष्ठभूमिका ट्रम्पले पहिलो कार्यकालमा आर्थिक सुधारका कदमहरू उठाउनुका साथै आप्रवासन, कर नीति र व्यापार सम्बन्धमा कडा अडान लिएको इतिहास रहेको छ ।
उनका समर्थकहरूले यो जितलाई अमेरिकाको ‘स्वतन्त्र’ तथा ‘सशक्त’ नीति पुनःस्थापनाको विजय मानेका छन् भने आलोचकहरूले यसलाई अन्तर्राष्ट्रिय सम्बन्धमा अस्थिरता निम्त्याउने चेतावनी दिएका छन् ।