काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताएका छन् । आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने बताए ।
उनले करको दायरा विस्तार गर्ने, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने, कर छली र चुहावट रोकिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । अर्थमन्त्री पौडेलले कार्य प्रकृया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा विद्युतीय सुशासनमा जोड दिँदै नतिजामा आधारित व्यवसायिक संगठन तथा कार्य विशिष्टकरणको लागि संस्थागत सुधारमा पनि थप पहल गर्ने बताए । ठूला कर कार्यालयको बक्यौता र बेरुजु बढेको भन्दै उनले बक्यौता असुली र बेरुजु फर्छ्यौटको विशेष अभियान नै सञ्चालन गर्न निर्देशन दिए ।