Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भोलीदेखि सुपथ मूल्य पसल सञ्चालनमा आउने, कालो बजारी गर्नेलाई कडा कारबाही हुने:मरासिनी


भोलीदेखि सुपथ मूल्य पसल सञ्चालनमा आउने, कालो बजारी  गर्नेलाई कडा कारबाही हुने:मरासिनी

काठमाडौं । सरकारले दसैँ, तिहार जस्ता चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले दुई-चार दिनभित्रै चाड पर्वलाई लक्षित गरेर सो पसल सञ्चालनमा ल्याउन लागिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मूल्यवृद्धिका मारमा परेका उपभोक्तालाई राहत पनि हुने भएकाले सो पसल खोल्ने निर्णय भइसकेको जानकारी समेत बताए ।

असोज १ गतेदेखि नै सो पसल सञ्चालनमा ल्याउने निर्णय भए पनि आयात सम्बन्धी अन्य विषयका कारण केही ढिलाइ हुन जाने देखिएको पनि सचिव मरासिनीले बताए । उनले खुला बजार भएका कारण आम उपभोक्ताहरूले पनि सचेत भएर वस्तुको खरिदबिक्री गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले भने, ‘‘हामी दुई-चार दिन भित्रै गर्छौँ । खासमा चाहिँ असोज १ गतेदेखि नै गर्ने भनेका छौँ । यसमा हाम्रो डिसिजन भइसकेको छ । हामीले दसैँ बजार लक्षित चाहिँ पसल खोल्छौँ । त्यो खोलिसकेपछि पनि मूल्य वृद्धिलाई त्यसले पनि काउन्टर दिन्छ । कतिपय अवस्थामा यो इम्पोटरहरुले भारत बाहेक देशहरूबाट पनि बस्तुहरू आयात गर्न सक्छन् । राष्ट्र बैङ्कसँग अनुमति लिएर यो काम हुन्छ ।’’

सचिव मरासिनीले कालो बजारी हुन नदिनका लागि सरकारले अनुगमनको कामलाई तीव्रता दिने र दोषी भेटिए कारबाही गर्ने बताए । उपभोक्ता सचेत भए मूल्यवृद्धिमा मारमा पर्ने अवस्था नरहेको उनको भनाई छ ।