Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गरौंःप्रधानमन्त्री दाहाल[भिडिओ सहित]


युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गरौंःप्रधानमन्त्री दाहाल[भिडिओ सहित]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी सरकारलाई रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दिगो विकास लक्ष्य, योजना आयोगको प्रतिवेदन राष्ट्रिय युवा नीति र सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकुल बनाउँदै नेपाली युवालाई वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार सम्पूर्ण रूपले प्रतिबद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले युवामा रहेको ज्ञान,सीप, दक्षता, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा जुट्नुपर्ने बताए । विदेशमा रहेका लाखौँ नेपाली युवाहरूको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव नरहेको उनको भनाइ छ । ’विदेशमा रहेका लाखौँ नेपाली युवाहरुको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव छैन । त्यसैले यस पटक के गरी उनीहरूको हीतको रक्षा हुनसक्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान कायम हुन्छ र कसरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, सरकार त्यो दिशामा गम्भीरतापूर्वक लागेको छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकारले सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेकोसमेत बताए । राष्ट्र संघको ७८औं महासभामा भाग लिने क्रममा न्युयोर्कमा आफूले अति कम विकसित देशको मुद्दा र समस्याका साथै जलवायु परिवर्तनबाट नेपाल जस्ता देशलाई परेको असरका बारेमा सम्बोधन गर्ने पनि प्रधानमन्त्री दाहालले बताए । उनले नेपालको शान्ति प्रक्रियाका बारेमा पनि सभामा सम्बोधन गर्ने जानकारी दिए।

साथै चीन भ्रमणमा नेपाल र चीनको द्विपक्षीय सम्बन्ध विस्तार र नयाँ नाका खोल्ने र कृषि, शिक्षा, स्वास्थ्यका साथै कृषिमा आधारित उद्योग खोल्ने कुरा विशेष प्राथमिकतामा रहेको पनि उनले बताए । प्रधानमन्त्री दाहाल आज साँझ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जाँदैछन् ।