काठमाडौं, असोज २। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढ्दै छ । मङ्गलवार कच्चा तेलको मूल्य १०० डलर नजिक पुगेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ व्यापक मात्रामा बढी रहेको छ । हाल मुर्बान क्रुडको भाउ प्रति ब्यारेल ९६ डलर माथि पुगेको छ । आयल प्राइसका अनुसार लण्डन बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल ९५ डलर र डब्लूटीआई अर्थात् युनाईटेड स्टेट्स क्रुडको मूल्य प्रतिब्यारेल ९२ डलरमाथि पुगेको छ । केही महिना अघिसम्म यस्तो तेलको भाउ ७५ डलरसम्म थियो ।
गत जुलाइमा मात्रै ७० देखि ७५ डलर (प्रतिब्यारेल) हाराहारीमा कारोबार हुँदै आएको थियो । तर, पछिल्लो महिनामा भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर वृद्धि भएको छ । कच्चा तेलमा लगातार मूल्यमा आएको बढोत्तरी तत्काल रोकिने सङ्केत देखिँदैन । यसरी निरन्तर बढिरहेको भाउ प्रति ब्यारेल १०० डलरसम्म पुग्ने अनुमान समेत गरिएको छ । ओपेके अर्थात् तेल उत्पादक तथा निर्यातक मुलुकहरूको सङ्गठन र साउदी अरेबियाले उत्पादन कटौती गरेका छन् । त्यसले अन्तर्राष्ट्रिय बजारमा आपूर्ति कम भएको छ, त्यसको प्रत्यक्ष असरमा मूल्यमा परिरहेको छ।
विश्व बजारमा लगातार कच्चा तेलको मूल्य बढेपछि नेपालमा पनि पेट्रोलियम पदार्थको भाउ बढ्ने सङ्केत देखिन्छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी खर्च बढाउँछ, त्यसले थप मुद्रास्फीति (महँगी) बढाउन टेवा पुग्छ । यस कारण साउदी अरबले बढाएको तेलको भाउको असर नेपाली बजारमा पनि पर्छ । केही दिनअघि भदौ २९ गते मात्रै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको विक्री मूल्य बढाएको थियो । डिजेल प्रतिलिटर १ रुपैयाँ र मट्टितेल प्रतिलिटर ३ रुपैयाँले बढेको थियो ।
योसँगै उक्तभोक्ताले काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ र झापा, विराटनगर, जनकपुर, अमलेखगन्ज र नेपालगन्ज, धनगढी र वीरगन्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ तिरिरहेका छन् । अन्तर्राष्ट्रिय बजारमा निरन्तर तेलको भाउ बढेपछि नेपाली बजारमा पनि अझै पेट्रोलियम महँगिने सङ्केत देखिन्छ । विदेशमा कच्चा तेलको भाउ बढ्दै जाँदा नेपालमा पनि भाउ बढ्ने गर्छ । बाह्य बजारमा मूल्य बढ्दा नेपाली उपभोक्तामाथि महँगीको भारी थोपीएको छ ।