काठमाडौं, असोज ९। नेपाल आयल निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर आईपीओ निष्कासन गर्ने भएको छ। निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारी भइरहेको बताएका छन्। मंगलबार नेपाल एलपी ग्याास उद्योग संघको २८ औं वार्षिक साधारणसभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन्। धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको छ। कम्तीमा दुई आर्थिक वर्ष फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने व्यवस्था छ, निगम यसमा प्रतिवद्ध छ उनले भने अब जनतालाई नै ओनरसिप बनाउने हो।
विभिन्न प्रक्रियागत तयारीहरू गर्नुपर्ने भएकाले सर्वसाधारणलाई सेयर धनी बनाउन केही समय लाग्ने उनले बताए ।निगमले गत असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेकाले अब नाफामै सञ्चालन हुने उनले बताए। गत आर्थिक वर्ष पनि निगम नाफामा रहेको उनले बताए । सबैलाई सहज रुपमा इन्धन आपूर्ति गर्न निगमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले गाली गरेर मात्रै नहुने उनको भनाइ छ। सबैले निगमप्रति ओनरसिप लिनको लागि पनि आईपीओ जारी गर्नैपर्छ उनले भने व्यवसाय स्टेक होल्डरहरुलाई पनि दिने र केही आम जनतामा दिनेगरी तयारी गरिरहेको अवस्था छ। ग्यास व्यवसायीहरुप्रति आयल निगम निर्मम हुने सोचमा नरहेको थानीको भनाइ छ।
सरकारले व्यवसायीका माग समयसापेक्ष रुपमा सम्बोधन गर्ने बताए । व्यवसायीका केही मागहरु सम्बोधन गर्नुपर्ने छ। मागहरु सञ्चालक समितिमा अड्किएर बसेका छन् उनले भने। नेपाल एलपी ग्याास उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले एलपी ग्याासको मूल्य अचानक बढ्दा व्यवसायीलाई समस्या भइरहेको बताए । उनले व्यवसायमा लागत अनुसारको मुनाफा आवश्यक हुने भन्दै आयात र मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्याास उद्योगले विभिन्न समस्या भोग्नुपरेको बताए। ग्यास उद्योगीलाई प्रतिसिलिण्डर नाफा १० वर्ष अगाडिजत्तिकै ३२ रुपैयाँ अहिलेसम्म कायम रहेको गुनासो गरेका छन् ।