काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताएका छन। सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा शनिबार दुधौली नगर अस्पतालको समुद्घाटन गर्नुहुँदै उनले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताए । स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिनुहुँदै उनले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिएको बताए ।
भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रूपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेको बताए । नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि प्रतिबद्धता व्यक्त भएको उनको भनाइ छ ।
वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको स्पष्ट दृष्टिकोणसहित अघि बढेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकारबाट थालनी भएका जनपक्षी कामबाट जनतामा सरकारप्रति आशा र भरोसा बढेको बताए।
प्रधानमन्त्रीका रूपमा आफूले द्विपक्षीय र बहुपक्षीय मञ्चमा नेपालका तर्फबाट जलवायु परिवर्तनका असरका मुद्दालाई प्रमुखताका साथ उठान गरेको जानकारी दिँदै उहाँले नेपालजस्ता पर्वतीय मुलुकका समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको स्मरण गरे ।
मुलुकको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन महत्त्वपूर्ण निर्णय लिइएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले पछिल्ला समय अर्थतन्त्र सही अवस्थामा फर्किएको स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले दुधौली नगर अस्पताललाई आवश्यक पर्ने उपकरण, दक्ष जनशक्ति र कर्मचारीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।