काठमाडौं । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा करिब ६ करोड रुपैयाँ मात्र संकलन भएको छ । भूकम्प गएको भोलिपल्ट शनिबारदेखि नै विभिन्न संघसंस्थाबाट पीडितलाई सहयोग गर्ने घोषणा भए पनि बुधबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ५ करोड ९५ लाख रुपैयाँ जम्मा भएको हो ।
कोषका अनुसार बुधबारसम्म बुद्ध एयरले १ करोड, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार, मुक्तिनाथ दर्शनले ५ लाख, राष्ट्रिय वाणिज्य बैंकले १ करोड, चैतन्य एकेडेमीले एक लाख, मनीष रेग्मीले एक लाख १० हजार, धादिङ कांग्रेसले एक लाख ५१ हजार, कांग्रेस केन्द्रले ५० लाख, कुस्मा नगरपालिकाले ४ लाख ७० हजार, नेपाल एलपीजी ग्यास उद्योग संघले ११ लाख ११ हजार, केएनपी जापानले ५ लाख र अन्यले २ करोड ४ लाख ४७ हजार गरी कुल ५ करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ ।
उल्लिखित रकम कोषमा नगदै जम्मा भएको सहयोग हो । यसबाहेक छिमेकी मुलुक र देशभित्रका विभिन्न संघसंस्थाले पनि आफैं राहत वितरण गरिरहेका छन् । यसरी वितरण भएको राहतको एकीकृत विवरण भने आइसकेको छैन ।
भूकम्प प्रभावितको सहयोगका लागि प्रदेश संरकार, अन्तर्राष्ट्रिय जगत्, निजी संघसंस्था र व्यक्तिले गरी २० करोड हाराहारीमा नगद सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसरी प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नगदै जम्मा गर्ने प्रतिबद्धता गर्नेमध्येले पनि हालसम्म जम्मा नगरेकाले बुधबारसम्म करिब ६ करोड रुपैयाँ मात्र जम्मा भएको कोषले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।