काठमाडौँ । नेपाल पत्रकार महासंघको नेतृत्वकालागि परेको उम्मेदवारीको अन्तिम नामावली आजै प्रकाशन हुने भएको छ । आजै उम्मेदवार उपरको दाबी विरोध र मनोनयनपत्र फिर्ताको समय निर्धारण गरिएको छ । उम्मेदवार उपरको दाबी विरोध आज बिहान ११ बजे निर्धारण गरिएको छ । त्यस्तै, मनोनयनपत्र फिर्ताको समय बिहान ११ बजे निर्धारण गरिएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन बिहान ११ बजेसम्मको समय दिइएको छ । महासंघको केन्द्रीय नेतृत्वमा अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिका अनुसार शुक्रबार कमल गिरी, देवी प्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लाल सिंह लामाको उम्मेदवारी परेको हो ।
यसैगरी, वरिष्ठ उपाध्यक्ष पदमा गोविन्द प्रसाद चौलागाईं, दामोदर प्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित ४ जनाको उम्मेदवारी परेको छ । यस्तै महिला उपाध्यक्षमा २ जना, उपाध्यक्ष समावेशीमा ३ जनाको उम्मेदपारी परेको छ । यसैगरी महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपाने गरी ४ जनाको उम्मेदवारी परेको छ ।
सचिव खुलामा ७ जना, सचिव महिलामा ३ जना, सचिव आदिवासी जनजातीमा ३ जना, सचिव मधेसीमा ३ जना, सचिव दलितमा ४ जना, सचिव एसोसिएटमा ३ जनाको उम्मेदवारी पर्दा कोषाध्यक्षमा पनि ३ जनाको उम्मेदवारी परेको निर्वाचनज समितिले जनाएको छ ।
सदस्यतर्फ कोशीमा ६, मधेसमा ५, बागमती (उपत्यकाबाहेक) ५, गण्डकीमा ५, लुम्बिनीमा ४, कर्णालीमा ४, सुदूरपश्चिममा ४, उपत्यका प्रदेशमा ६, प्रतिष्ठान प्रदेशमा ४, संस्थागत प्रदेश एसोसियतमा ३, खुला सदस्यमा १२ र महिला सदस्यतर्फ मधेसी २, आदिवासी जनजाति २, खस आर्य २ र दलित १ जनाको उम्मेदवारी परेको छ । महासंघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन मंसिर २८ मा हुनेछ ।