काठमाडौं, श्रावण ३० । नेपालमा ट्रेडमार्क लिनेहरुको संख्या उच्च सख्यामा बढेको छ । ६ महिनाभित्रै ट्रेडमार्क लिनसक्ने व्यवस्था गरेपछि यो अवस्था आएको उद्योग विभागले बताएको छ । यसअघि एउटा ट्रेडमार्क लिन २ वर्षसम्म धाउनुपर्ने बाध्यता थियो । विभागका अनुसार गत वर्षमात्रै ३ हजार २५४ वटा ट्रेडमार्क दर्ता भएका छन् । यससँगै नेपालमा दर्ता भएको ट्रेडमार्कको संख्या ५८ हजार पुगेको छ ।
व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिह्न, तस्बिर, आकार वा शब्द आदिलाई ट्रेडमार्क भनिन्छ । यसले उस्तै किसिमको सामान उत्पादन गर्ने अर्को व्यवसायभन्दा फरक देखाउन मद्दत गर्छ । यद्यपि ट्रेडमार्क दर्ता सँगसँगै पछिल्लो समय एउटाले लिएको ट्रेडमार्कको नक्कल गर्दै सामान उत्पादन गर्ने तथा बेच्ने कम्पनीहरुको संख्या पनि बढेको छ । विभागका अनुसार ट्रेडमार्कको नक्कल गर्नेहरुमा विदेशीभन्दा नेपाली कम्पनीहरु धेरै रहेका छन् । ट्रेडमार्क कुनै पनि फर्म वा कम्पनीको सम्पत्ति हो ।
उसले लिएको ट्रेडमार्क जतिसुकै बेला पनि बिक्री गर्न सक्ने अधिकार हुने औद्योगिक सम्पत्ति शाखाका निर्देशक डिकबहादुर कार्कीले बताएका छन् । ट्रेडमार्क रजिष्ट्ररको रेकर्ड राख्ने विभागसँग कति ट्रेडमार्क प्रयोगमा छन् र कति छैनन् भन्ने एकिन विवरण भने छैन । सामान्यतया ट्रेडमार्क लिएको एक वर्षभित्र सम्बन्धित व्यक्तिले ट्रेडमार्कको अवस्था कस्तो छ, प्रयोगमा छ कि छैन भन्ने जानकारी विभागलाई गराउनुपर्ने हुन्छ ।
तर, यस्ता जानकारीहरु विभागमा खासै आएको देखिँदैन । रेकर्ड नराखिए पनि कार्कीले पहिलाभन्दा अहिले विभागले धेरै कुराको सिस्टम बसाल्दै गएको तर्क गरे । उनले १ लाख ८ हजार फाइल अहिले चाहेकै बेला पाउन सक्ने गरी व्यवस्थित गरेको र प्रणालीगत सुधारमा अगाडि बढेको बताएका छन्।