काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने भएको छ । इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानवअधिकार प्रवर्द्धनमा लागेको भन्दै रोयल स्विडिस एकेडेमीले शुक्रबार सन् २०२३ को विजेता घोषणा गरेको हो ।
नरगिसलाई इरान सरकारले तेहरानस्थित कुख्यात इभिन कारागारमा राखेको छ । पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएकी उनलाई यसै वर्ष संयुक्त राष्ट्रसंघले प्रेस स्वतन्त्रता पुरस्कार दिएको थियो । नरगिससहित इरानी पत्रकार निलोफर हमिदी र एलाहेह मोहम्मदीलाई गत मेमा प्रेस स्वतन्त्र पुरस्कार प्रदान गरिएको थियो ।
५१ वर्षीया नरगिसले जेलबाटै महिलाविरुद्ध हुने यौन हिंसाका बारेमा आवाज उठाउँदै आएकी छन् । इरानमा मानवअधिकारविरुद्धको लडाइँमा नरगिस पर्यायवाची शब्द बनेको पुरस्कार घोषणाअघि नै सीएनएनले प्रकाशित गरेको रिपोर्टमा उल्लेख गरेको छ । विभिन्न मुद्दामा पटक–पटक जेल परेकी नरगिस पछिल्लो पटक भने राष्ट्रिय सुरक्षामाथि आँच आउने र राज्यविरुद्ध दुष्प्रचार गरेको आरोपमा जेल परेकी हुन् ।
उनी सन् २०२१ नोभेम्बर १६ मा इब्राहिम केताबदरको स्मृति समारोहमा सहभागी भएका बेला पक्राउ परेकी हुन् । इब्राहिम २०१९ को नोभेम्बरमा राष्ट्रव्यापी प्रदर्शनका क्रममा इरानी सुरक्षा फौजबाट मारिएका थिए । उनलाई १३ पटक पक्राउ गरिएको छ भने जम्मा ३१ वर्ष जेल सजाय सुनाइएको छ । पछिल्लो पटक नरगिसलाई १० वर्ष ९ महिना जेल सजाय सुनाइएको छ ।
थप १५४ कोर्रा सजाय सुनाइए पनि उक्त सजाय अहिलेसम्म दिइएको छैन । उनीमाथि यात्रा र अन्य प्रतिबन्ध पनि लगाइएको छ । नरगिसको साहसिक संघर्षले व्यक्तिगत रूपमा ठूलो क्षति भोग्नुपरेको रोयल स्विडिस एकेडेमीले जनाएको छ । सीएनएनका अनुसार नरगिसलाई सार्वजनिक रूपमा मानवअधिकारका पक्षमा आवाज उठाएकै कारण राज्यले यातना दिइरहेको छ ।
जेलभित्रबाटै जेलमा हुने यौन हिंसाका बारेमा सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएको र मानवअधिकारका पक्षमा सक्रियता देखाएकै कारण गत अगस्टमा थप १ वर्ष जेल सजाय थप गरिएको थियो । भौतिकशास्त्रको विद्यार्थी रहेकै बेलादेखि नरगिसले महिला समानता र अधिकारका पक्षमा आवाज उठाउँदै आएकी थिइन् । सन् २०११ मा उनलाई पहिलो पटक पक्राउ गरिएको थियो ।
इरानी जेलमा महिलामाथि हुने गरेको दमनका बारेमा ‘ह्वाइट टर्चरः इन्टरभ्युज विथ इरानियन वुमेन प्रिजनर्स’ शीर्षकमा उनको पुस्तकसमेत प्रकाशित भएको छ । नोबेल विजेताले १ करोड १० लाख स्विडिस क्रोनर ९९ लाख ९७ हजार अमेरिकी डलर र पदक प्राप्त गर्नेछन् । यस वर्षबाट पुरस्कारमा १० लाख स्विडिस क्रोनर बढाइएको हो ।