मुस्ताङ । मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो ।
गाउँपालिकाको दुईवटा शीर्षकको र एक्यापको बजेटबाट फरक–फरक ठाउँमा पदमार्ग निर्माण भएको हो । आर्थिक वर्ष २०८०—८१ मा घरपझोङ गाउँपालिकाले दुईवटा शीर्षकमा ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको तिलिचो ताल जोड्ने पदमार्ग मर्मत तथा स्तरोन्नति योजनाका लागि एक्यापले पनि १० लाख रुपैयाँ खर्च गरेको छ ।
घरपझोङ गाउँपालिकाका रोजगार संयोजक शर्मिला श्रीसले प्रधानमन्त्री रोजगार कार्यक्रमको २१ लाख ४९ हजार र गाउँपालिकाको थप २८ लाख ५८ हजार रुपैयाँ बजेटबाट वडा नं ४ र ५ को विभिन्न ठाउँमा २२ किलोमिटर पदमार्ग बनाएको जानकारी दिए ।