काठमाडौं, भदौ १० । नेपालीहरूले वैदेशिक रोजगारीबाट रिटायर भएपछि नियमित रूपमा पेन्सन बापत नेपाल भित्रिने रकम बढेको छ । गत आवमा यसरी आउने रकम रकम २१.४३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त गत आवको तथ्याङ्कले यस्तो देखाएको हो । गत आव २०७९,८० मा यस बापत ७५ अर्ब २४ करोड २९ लाख रुपैयाँ भित्रिएको छ । गत आव २०७८७९ मा यस बापत ६१ अर्ब ९६ करोड २१ लाख रुपैयाँ भित्रिएको थियो । नेपालीहरूले भारत, सिंगापुर लगायतका देशको आर्मी लगायतका सरकारी सेवामा रोजगारी गर्दै आएका छन् ।
त्यहाँबाट रिटायर भएपछि उनीहरूले त्यहाँको कानुनी प्रावधानबाट नियमित पेन्सन पनि पाउँछन् । उनीहरूले सम्बन्धित देशबाट मासिक, अर्धवार्षिक, वार्षिक रूपमा पेन्सन पाउँछन् । सोही बापत नेपालमा विदेशी मुद्रा भित्रिएको हो । नेपालमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट आउने गरेको छ । पछिल्लो समय यस्तो आम्दानी बढ्दै पनि गएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको हो । डलरको आधारमा भने गत आवमा ५७ करोड ५० लाख डलर पेन्सन भित्रिएको छ । जुन अघिल्लो आव तुलनामा १२.१ प्रतिशतले बढी हो । अघिल्लो आवमा ५१ करोड ३० लाख डलर पेन्सन रकम नेपाल भित्रिएको थियो ।
त्यस भन्दा अघि २०७७.७८ मा भने ४९ करोड ७० लाख डलर पेन्सन नेपाल भित्रिएको थियो । सो वर्ष नेपाली रुपैयाँमा ५८ अर्ब ५९ करोड ५१ लाख रुपैयाँ पेन्सन नेपाल भित्रिएको थियो । विभिन्न कारणबस अघिल्लो आव नेपालको विदेशी मुद्रा आम्दानी खस्कीएको थियो, त्यसले अर्थतन्त्रको बाह्य क्षेत्र दबाबमा थियो । तर, गत आवमा भने विदेशी मुद्रा आम्दानी बढेको देखिन्छ । त्यसले अर्थतन्त्रको बाह्य क्षेत्र पनि सहज अवस्थामा पुगेको छ ।त्यसमा पेन्सन बापत आउने पैसाले पनि ठुलो योगदान दिएको राष्ट्र बैङ्कका अधिकारीहरू बताउँछन् ।
अघिल्लो आवमा २५५ अर्बले घाटामा रहेको शोधनान्तर स्थिति अहिले झन्डै तीन खर्ब नाफामा छ । साथै, विदेशी मुद्रा सञ्चिति पनि १५ खर्ब भन्दा पुगेको छ । गत वर्ष शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष भने शोधनान्तर स्थिति साढे दुई खर्ब भन्दा बढी घाटामा रहेको थियो । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार अघिल्लो वर्ष यस्तो स्थिति २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्ष अमेरिकी डलरमा वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति गत वर्ष भने २ अर्ब २१ करोडले बचतमा रहेको देखिएको छ । विशेषगरि गत वर्ष रेमिट्यान्स आप्रवाह दोहोरो अङ्कले बढेको छ, जसले शोधनान्तर स्थिति बचतमा गएको हो । गत वर्ष रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यसका साथै आयात १६.१ प्रतिशतले घटेर १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ । रेमिट्यान्स आप्रवाह वृद्धि र आयात घटेपछि नै शोधनान्तर स्थिति बचतमा गएको थियो । यस्तै, पछिल्लो समय विदेशी विनिमय सञ्चिति पनि बढ्दै गएको छ । गत वर्षको तुलनामा कुल विदेशी विनिमय सञ्चिति पनि दोहोरो अङ्क अर्थात् २६.६ प्रतिशतले बढेको छ ।
गत असार मसान्तसम्म यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । गत असार मसान्तसम्म आई पुग्दा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति अघिल्लो असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको रहेको थियो । गत २०८० असार मसान्तसम्म आई पुग्दा भने २३.१ प्रतिशतले वृद्धि भई ११ अर्ब ७४ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेको थियो ।
२०८० असार मसान्तमा आई पुग्दा २७.४ प्रतिशतले वृद्धि भई १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ । बैङ्क तथा वित्तीय संस्था नेपाल राष्ट्र बैङ्कबाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई १ खर्ब ९३ अर्ब ५९ करोड पुगेको छ । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।