काठमाडौं । बैदेशिक रोजगारीको प्रलोभनमा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । अमेरिका र क्यानडा लैजाने प्रलोभन देखाएर ओखलढुंगाका ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ गाउँपालिकाका ४६ वर्षीय विष्णुबहादुर बराली र तनहुँकै ४८ वर्षीय जंगबहादुर विकले विभिन्न व्यक्तीहरुलाई ठगी गरेका थिए ।
तिनैजनालाई कञ्चनपुरको गड्डाचौकी नजिकैबाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले शुक्रबार सोही मुद्दामा टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई पक्राउ गरेको थियो । उनिहरुले भारतको नयाँ दिल्लीमा बसेर ठगी गर्ने गरेको बताइएको छ ।
उनिहरुले अमेरिका लैजाने प्रलोभन देखाएर प्रतिव्यक्ति ४० देखि ५० लाख रुपैयाँसम्म र क्यानडा जान प्रतिव्यक्ति २२ देखि ३० लाख रुपैयाँसम्म लाग्ने विश्वास दिलाएर ठगी गरेको प्रहरीको दाबी छ । पक्राउ परेकाहरुले अमेरिकाका लागि दुबई ट्रान्जिट बनाएर केन्या, युगान्डा लगेर ९ महिनासम्म बन्धक बनाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा यसअघि ३ जना पक्राउ परेका छन् ।