काठमाडौं । सरकारले कुखुराको अवैध आयात रोक्न निर्देशन दिएको छ । ‘भारतसँगको खुला सीमानाको फाइदा उठाउँदै कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको जनगुनासोलाई सम्बोधन गर्दै गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
यसबारे उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भदौ ३ गते सरोकारवाला सरकारी र व्यवसायी निकायबीच वृहत छलफल समेत भएको थियो ।
उक्त छलफल बमोजिमको निष्कर्ष कार्यान्वयनका लागि मंगलबार शाखा अधिकृत अशोककुमार आचार्यले गृह मन्त्रालय नेतृत्वको आदेशअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयका नाममा देहाय बमोजिम गर्न गराउन पाँच बुँदे निर्णय जारी गरेका हुन् । जसमध्ये–
१. खुला सीमानाकाबाट गैरकानूनी रुपमा ओसार–पसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउने ।
२. अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानून बमोजिम आवश्यक कानूनी कारवाही गर्ने ।
३. सीमा नाकामा गस्ती निगरानी बढाउने ।
४. सीमा क्षेत्रमा अवैध तथा मापदण्डविपरीत खोलिएका कुखुरा फार्म, बधशाला ह्याचरी र कोल्ड स्टोरहरुलाई हटाउने ।
५. भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय तथा सहयोग गर्ने ।