Thursday, July 03, 2025

२०८२ असार १९, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

दशैँ नजिकिएसँगै आन्तरिक उडान भरिभराउ


दशैँ नजिकिएसँगै आन्तरिक उडान भरिभराउ

काठमाडौं । दशैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दसैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् ।

काठमाडौँबाट उडान हुने गन्तव्यमध्ये केही गन्तव्यमा दसैँसम्मका सबै टिकट बुक भइसकेका छन् भने उपलब्ध टिकटमध्ये महँगो हवाई भाडा भएका गन्तव्यका मात्रै टिकट उपलब्ध छन् । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णका अनुसार हवाई यातायाततर्फ सार्वजनिक यातायात जस्तो ठ्याक्कै यो दिन टिकट खुल्ने भन्ने व्यवस्था नरहेकाले यात्रुले सस्तो दरका सबै टिकट काटिसकेका छन् । उनले भने, “बुद्ध एयरको सुर्खेत र तुम्लिङटारको टिकट दसैँसम्मलाई नै प्याक भइसकेको छ । अन्य गन्तव्यतर्फ दसैँसम्मका २० प्रतिशत टिकट बाँकी नै छन् ।”

अग्रिम टिकट काट्नेले सस्तो र तुरुन्तै टिकट काटेर उड्न चाहनेले महँगो टिकट लिन सक्ने भएकाले महिना दिन पहिलेदेखि नै दसैँका टिकट लिनेसमेत रहेको बताए । दसैँका बेला राजधानीबाट बाहिरिने उडान भरिभराउ भए पनि राजधानी फर्किने उडानको टिकट लिनेको सङ्ख्या भने न्यून रहेको बताए । अहिले राजधानी फर्किनेले टिकट सस्तो दरमा पाइरहेको समेत भनाइ छ ।

त्यस्तै यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दसैँ लक्षित यती एयरका ६० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेका छन् । दसैँपछि राजधानी फर्कने यात्रुले अहिले नै अग्रिम टिकट काट्न थालेकाले दसैँपछि समेत राजधानी फर्कन अहिलेकै अवस्था रहने बताए । उनले भने, “अहिले एकतर्फी उडानको भाडा महँगो भए जस्तै दसैँपछि पनि केही दिन त्यस्तै हुने हो । टिकटको मूल्य सरकारले तोकेको उच्चतम र न्यूनतम बिन्दुभित्रै रहने भएकाले आठ वर्षदेखि हवाई कम्पनीले बढाएका छैनन् ।”

अहिले अन्तर्राष्ट्रियतर्फ मात्रै ४० हाराहारीमा उडान थप गरिएकाले बढ्दो एयर ट्राफिकका कारण जहाजको उडान समय खर्चसमेत बढ्न गएको उनको भनाइ छ । हाल भैरहवा, पोखरा, जनकपुर, विराटनगर, धनगढीलगायतका गन्तव्यका उडानमा बढी चाप रहेको बताए । बुद्ध एयरका अनुसार घटस्थापनासम्मका लागि काठमाडौँदेखि धनगढीसम्म दसैँका लागि अधिकतम भाडादर १७ हजार एक सय ८६ रुपियाँ रहेको छ । उक्त गन्तव्यमा अहिले सहुलियत भाडादर ११ हजार रुपियाँ रहेको छ ।

त्यस्तै सुर्खेतको महँगो भाडादर १४ हजार १६८, काठमाडौँदेखि सबैभन्दा नजिकको सिमरा र भरतपुरमध्ये सिमराको महँगो भाडा दर चार हजार नौ सय रुपियाँ छ भने भरतपुरको अधिकतम भाडा चार हजार ६१ रुपियाँ रहेको छ ।