काठमाडौँ । नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान सञ्चालनमा आएको जनाएको छ । निगमले दुईवटा ‘न्यारोबडी’ विमान नियमित उडानमा रहेको जनाएको छ । एउटा वाइडबडी विमान पनि मर्मतपछि आजैबाट उडानमा आएको हो । आज बेलुका दोहाका लागि उडान भरेर भोलि सोमबार विमान जापान उडान भर्ने तालिका रहेको निगमले जनाएको छ ।
निगमले विमान विशिष्ट प्राविधिक संयन्त्रबाट सञ्चालन हुने यान्त्रिक वस्तु भएकाले निर्माता कम्पनी तथा नियामक निकायले तोकेका मापदण्डअनुरूप निगमका विमान नियमित मर्मतसम्भार गर्ने गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । प्राविधिक कारणले तीनवटा विमानका यात्रु दुईवटा विमानबाट ओसारपसार गर्नुपर्ने भएकाले उडान केही ढिला हुन गई यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति निगमले क्षमायाचना समेत गरेको छ ।