काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप विदेशमन्त्री रिचार्ड आर बर्माले भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको छ ।
नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि आभार व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले नेपालको विकासका विविध क्षेत्रमा सहयोगको अपेक्षा गरे ।
प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तनोन्नति हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुङ्गो लाग्ने क्रममा रहेको पनि जानकारी गराए ।
सो क्रममा उपमन्त्री बर्माले दुई देशबीचको ७७ वर्षदेखिको सम्बन्धको दुईपक्षीय सम्बन्धको स्मरण गर्दै नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाको लागि खुसीको विषय भएको बताए ।