काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति शोधपुछको कार्य अन्तिमतिर पुगेको बताएको छ । शनिवार पनि सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठक पछि समिति सभापति सुर्य थापाले शोधपुछको क्रम करिब सकिएकाले अब प्रतिवेदन लेखनमा केन्द्रित हुने बताए ।
उनले भोली केहि सहकारी सञ्चालकसँग छलफल हुने त्यसपछि प्रतिवेदन लेखनको प्रक्रिया अघि बढाउने बताए । आजको बैठकमा नख्खु कारागारमा रहेका कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास वचत तथा ऋण सहकारी संस्थाका ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुईवटा संस्था सञ्चालन गर्दै आएका तेजविक्रम थापालाई बोलाएर शोधपुछ गरेको बताए ।
पछिल्लो समयमा जिबी राईको नेतृत्वमा पुगेको हाम्रो नयाँ कृषि बहुउद्देश्य सहकारी संस्था भक्तपुरका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङ र ज्येष्ठ लगायत ८ वटा सहकारी संस्थासँग संवद्ध मधुसुदन पाठकसँग शोधपुछ गरेको पनि बताए । समितिले धरान उपमहानगरपालिकको नियमनमा रहेको बराह वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मासँग पनि शोधपुछ गरेको बताए ।